महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्य हुनेछ : सभामुख महरा

समाचार

दाङ, २० मङसिर 

सभामुख कृष्णबहादुर महराले महिलामाथि हुने सबैखाले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि राज्य गम्भीर भएर लागेको बताउनुभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज घोराहीमा आयोजना गरेको प्रदेश नं ५ स्तरीय लैङ्गिक हिंसा अन्त्य गर्नका लागि सरोकारवाला निकायको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । समाजमा अझै पनि रुढीवादी परम्परा तथा अज्ञानताका कारण समाजमा विकृति तथा विसङ्गति हुने गरेको भन्दै उहाँले त्यसको अन्त्यका लागि स्थानीय सरकारले विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर चेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । सभामुख महराले लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा प्रतिनिधिसभामा सङ्कल्प प्रस्ताव पेश गरिएको र अझै पनि केही नियम कानूनको आवश्यकता भए संसद्मा लैजाने बताउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसा अन्त्य गर्नका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले महिला हिंसा रोक्नका लागि स्थानीय तहमा सबै सरोकारवाला निकायलाई समेटर संयन्त्र निर्माण गरिने बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *