मनकामना केवलकार कप माघको दोश्रो साता

खेलकुद गण्डकी प्रदेश

मनकामना केवलकार कप माघको दोश्रो सात

कार्तिक २७,पोखरा

तेश्रो संस्करणको मनकामना केवलकार कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिता आगामी माघको दोश्रो सातादेखि पोखरा रंगशालामा शुरु हुने भएको छ । आयोजक कास्की जिल्ला फुटवल संघले प्रतियोगिताको तयारी शुरु गरेको छ ।

‘प्रतियोगिताका लागि पहिलो चरण अन्तर्गत मैदानको स्तरोन्नतीको काम भइरहेको छ’–संघ कास्कीका अध्यक्ष मिलन गुरुङ्गले भने । मैदान गोडमेलका लागि अहिले दैनिक दश जनाले काम गरिरहेका छन् । मैदान सम्याउने, झार उखेल्ने र दुबो रोप्ने काम अर्को हप्तासम्म सकिने अध्यक्ष गुरुङ्गले बताए । त्यस लगत्तै मैदानमा पानी हाल्ने र तारबार गरेर संरक्षण गरिने पनि उनले जनाए । यसका लागि झण्डै पाँच लाख खर्च लाग्ने फुटवल संघको अनुमान छ ।

मैदानको काम सकिए लगत्तै प्रतियोगिता सम्पन्न पार्न विभिन्न उपसमिति गठन गरिने संघका उपाध्यक्ष विश्व तण्डुकारले बताए । मैदानको पश्चिमतर्फ भत्किएको प्यारापिटमा दर्शक बस्न मिल्ने गरि उचित व्यवस्था गरिने पनि तण्डुकारले जानकारी दिए । प्यारापिट भएको ठाउँमा अहिले बयँर झाडि पलाएको छ । झाडि फाँडेर त्यसलाई सम्याउने, मैदानको पूर्वतर्फ स्काइफोल्डर राख्ने र भिआइपीहरुका लागि मञ्चको व्यवस्थापन गरिने उनले बताए । ‘हामी झण्डै तीन चार हजार दर्शकले राम्रो संघ खेल अवलोकन गर्न मिल्ने गरि काम गर्छौ’ तण्डुकारले भने ।

संघ कास्की यसपटकको प्रतियोगितामा चार विदेशि टिम ल्याउने कोशिषमा छ । त्यसबाहेक नेपालका उत्कृष्ट ए डिभिजन क्लव, विभागिय टिम तथा आयोजक सहित १२ टिमलाई प्रतियोतिगामा सहभागिता गराइने संघले जनाएको छ ।

संघले यसअघि मनकामना केवलकारका दुई वटा संस्करण पुरा गरिसकेको छ । संघ र केवलकारविच तीन संस्करणको सम्झौता भएको थियो । यो प्रतियोगितासंगै पुरानो सम्झौता पुरा हुने छ । केवलकारले संघसंगको सहकार्यमा आगामी वर्षहरुमा पनि प्रतियोगिता आयोजना इच्छा प्रकट गरेको अध्यक्ष मिलन गुरुङ्गले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *