भारतबाट ४० जना नेपाली महिलाको उद्धार गरी सीआइबीलाई बुझाइयो

बागमती प्रदेश विशेष समाचार

काठमाडौँ, ११ पुस ।

गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ ।

दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा तेस्रो देश जाने तयारीमा रहेको उनीहरु झण्डै एक महिनादेखि भारतीय प्रहरीकोे नियन्त्रणमा थिए । नयाँ दिल्लीस्थित नेपाली दूतावास र ‘माइती भारत’का अध्यक्ष बालकृष्ण पाण्डेको सहयोगमा उनीहरुलाई भारतीय प्रहरीको नियन्त्रणबाट मुक्त गरी नेपाल फर्काइएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

४० जना महिलामध्ये १३ जनालाई मंगलबार र २७ जनालाई तीन दिनअघि नेपाल फर्काइएको पाण्डेले बताए । नेपाल भारत जनसम्पर्क समितिका अध्यक्ष पाण्डेको सहयोगमा सबै महिलालाई विमानबाट नेपाल ल्याई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केन्द्रीय अनुसन्धन ब्यूरो (सीआइबी) लाई बुझाइएको छ ।

सीआइबीले घटनाबारे थप अनुसन्धान गरिरहेको र आफन्त नआएसम्मका लागि उद्धार गरिएका महिलालाई नख्खुस्थित ‘फर द वान’ संस्थाको जिम्मामा पठाएको सीआइबीका डीएसपी राजकुमार सिलवालले बताए । हाल उद्धार गरिएका महिला उक्त संस्थाको सुरक्षित आवासमा रहेको संस्थाका कार्यक्रम संयोजक मीना बि.क.ले जानकारी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *