ब्लड क्यान्सर पीडितलाई स्वर्गद्वारी छात्रपरिषद्को सहयोग

समाज

काठमाडौं। ब्लड क्यान्सर पीडित शिवराम कुँईकेललाई स्वर्गद्वारी छात्रपरिषद्ले दुई लाख एकचालीस हजार सात सय चौरासी रुपैँया आर्थिक सहयोग गरेको छ ।आईतबार छात्रपरिषद्ले नुवाकोटका क्यान्सर पीडित शिवरामलाई उनको डेरामा पुगेर उक्त रकम हस्तान्तरण गरेको हो ।

स्वर्गद्वारी छात्रपरिषद्को संयोजनमा आफ्ना सदस्य, श्रध्दालु भक्तजन, सहयोगी दाता लगायतबाट करिब एक महिनाको अन्तरालमा उक्त रकम सङ्कलन गरिएको परिषद्का अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी गराएका थिए । संस्थाका सह-कोषाध्यक्ष वासुदेव गौतमका अनुसार एक लाख चारहजार छ सय सतहत्तर नेपालबाट र विदेश विभाग प्रमुख मनोहर धिताल मार्फत् अमेरिकाबाट एक लाख सैँतीस हजार एक सय सात रुपैँया जम्मा गरिएको थियो ।

हाल देवघाटस्थित गलेश्वर आश्रमद्वारा सञ्चालित वेदवेदाङ्ग संस्कृत गुरुकुलमा अध्ययनरत शिवरामलाई उपचार खर्च महङ्गो र अभाव रहेको सञ्चार माध्यमबाट थाहा पाएपछि परिषद्ले संयोजन गरी उक्त रकम सङ्कलन गरेको संस्थाका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । यस अभियानले सहयोगको हात फैलाउने माहोल सिर्जना भएको देखिन्छ । संस्कृत क्षेत्रका गुरुकुलहरुमा अध्ययनरत वा कार्यरत जो कोहीलाई यसरी सहयोग जुट्नु कठीन थियो तर धेरैतिरबाट यसपटक सार्थक अभियान चलेको र बिरामीका लागि पैसा उठाइएको छ, यसले बिरामी तथा उनका परिवारजनमा थप हौसला मिलेको छ ।

पौरस्त्य वाङ्मय तथा वैदिक सनातन संस्कार संस्कृतिको संरक्षणमा क्रियाशील स्वर्गद्वारी छात्र परिषद्ले यही संस्कृत क्षेत्रमा अध्ययनरत बिरामीको स्वाभाविक जीवनयापनमा आर्थिक समस्याले अवरोध नगरोस् भन्ने उद्देश्यले सहयोगको कदम चालिएको घिमिरेले बताए ।

हस्तान्तरण कार्यक्रममा बिरामीको शीघ्रस्वास्थ्यलाभको कामना गर्दै समस्त देश तथा विदेशमा रहेर सहयोग उपलब्ध गराउनुहुने व्यक्तिहरुप्रति धन्यवाद व्यक्त गरिएको थियो ।

सहयोग रकम संस्थाका अध्यक्ष घिमिरेसँगै उपाध्यक्ष कमल गौतम र सहकोषाध्यक्ष वासुदेव गौतमसँगै अन्यपदाधिकारीबाट हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *