बुटबलका युवा जस्ले आफ्नै दिमाखले बनाए कार ।

समाचार

बुटबलका युवा जस्ले आफ्नै दिमाखले बनाए कार ।

बुटबल २०७५ चैत्र ०६ । आजभोलि बुटवलमा एकजना भर्खरका युवक थोत्रो जस्तो देखिने सानो कार कुदाएर बजारमा गुडेका भेटिन्छन् । बजारमा देखिनेभन्दा अलि सानो आकारको पूरै फिनिसिङ नभइसकेको उनको कार देख्ने जो कोही एकछिन अचम्म पर्छन् । कसैले दुर्घटनामा परेर स्वरुप बिग्रेर डेन्टिङ-पेन्टिङ गर्दै होला भन्ठान्छन् भने कतिपयले त उनलाई ‘बौलाहा’ अनुमान गर्न पनि भ्याउँछन् ।

यस्तो कार कुदाएर हिँड्ने २२ वर्षीय युवक हुन् बुटवलका अंकित बराइली । उनले दुई वर्ष लगाएर व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार बनाएका छन् । स्पोर्टस् मोडेलको कारलाई उनले ‘ड्रिम कार’ नाम दिएका छन् । यद्यपि कारलाई अन्तिम स्वरुप दिन अझै बाँकी छ ।
कारको छत राख्न र ‘बडी’ पेन्टिङ गर्न उनले भ्याएका छैनन् । बराइली आफैंले कारको स्वरुप डिजाइन गरेर यसको चेसीस, फेब्रिकेसन, सस्पेन्सन सिस्टम जडान गरेर कार बनाएका हुन् । ब्रेक र स्टेरिङ्ग पनि आफैंले बनाएका हुन् ।
ग्राउण्ड क्लियरेन्स १ सय ५० एमएम, साढे ३ मिटर लम्बाइ, १.२५ मिटर उचाइ र ४५ इन्च चौडाइ भएको यो कार दुई सिट क्षमताको हो ।कारको डिजाइनलाई मुर्तरुप दिन बराइलीले चेसिसलाई एक वर्षसम्म विशेष प्रकारको माटोले पुरेर आकार निकाली डाइ बनाएर फाइबर ग्लासको ‘बडी’ बनाएका छन् ।
विद्युत चार्ज गरेर र पेट्रोल दुवैबाट चल्ने यो कार प्रतिघण्टा करिब ४० किलोमिटर गुड्ने बराइली बताउँछन् । यद्यपि कारमा गति मापन गर्ने उपकरण भने जडान गरेका छैनन् ।
विशेषखालको मेसिननरी यन्त्रविना स्थानीयस्तरमा उपलब्ध लेथ मेसिनको प्रयोगबाट वेल्डिङ, वायरिङ गरेर कार तयार गरेको बराइलीले बताए ।
चारवटै पांग्रामा ब्रेक सिस्टम राखेका उनले यो कारलाई उकालोमा पनि कुदाएका छन् । बुटवलको सबैभन्दा उकालो सडक लक्ष्मीनगर र हिलपार्कको डाँडासम्म चालकसहित दुईजनालाई कारले सजिलैसँग पुर्‍याएको बराइलीले बताए ।

कार बनाउन अहिलेसम्म लगभग ६ लाख रुपैयाँ मात्र खर्च भएको र फिनिसिङसहित अन्तिम रुप दिन अझै २ लाख रुपैयाँ जति लाग्ने उनले बताए । कारको छत गर्मी याममा निकालेर खुल्ला राख्न मिल्ने र जाडो याममा पुनः राख्न मिल्ने गरी डिजाइन गरिएको उनले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *