सप्तरी, २८ मङसिर (रासस) ः बाह्र वर्षीया बालिकालाई बलात्कार गर्न प्रयास गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलाशले सो फैसला गरेको हो । विसं २०७४ साउन ७ गते सुरुगा नगरपालिका–४ स्थित हरिनारायण चौधरीको फुलबारीमा बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । प्रहरीले आरोपितलाई विसं २०७४ साउन १२ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो ।
बलात्कारको आरोपमा दुई महीना कैद
यसैगरी नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १२ वर्षीय बालकलाई जिल्ला अदालतले हिजो दुई महिनाको कैद सजाय गरी स्थगनको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलाशले सो फैसला गरेको हो । कैद सजाय गरी स्थगनको फैसला गर्नुका साथै पीडितलाई आरोपितबाट रु सात हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरिएको न्यायाधीश ढुङ्गानाले बताउनुभयो ।
न्यायाधीश ढुङ्गानाका अनुसार आरोपितबाट एक वर्षभित्र कैद सजाय हुने अन्य अपराध प्रमाणित भएमा अहिलेको कैद सजाय गाभिने छ । ट्युशन पढेर घर फर्किरहेका बेला अध्यारोको मौका छोपी आरोपितले बलात्कार गरेको आरोप लगाउँदै पीडितकी आमाले जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले सोही दिन आरोपित बालकलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला अदालतका न्यायाधीश ढुङ्गानाकै इजलाशले आरोपितलाई गत असार ५ गते संरक्षकको जिम्मा लगाउने आदेश गरेको थियो । आरोपितका आमाले भने बालिकाको आमासँग आफ्नो झगडा भएको रिसमा छोरामाथि झुठा आरोप लगाएको बताउँदै आएकी थिइन् ।
–––