कृषि विश्वविद्यालयको स्नातकोत्तरको भर्ना स्थगित

विशेष समाचार

चितवन, ११ माघ 

कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ ।

विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो ।

गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै तालाबन्दी गरेपछि भर्ना प्रक्रिया स्थगन गरिएको हो ।

सो सङ्कायका डिन डा शारदा थपलियाले प्राध्यापक र विद्यार्थीबाट गुनासो आएपछि हालका लागि भर्ना स्थगन गरिएको बताउनुभयो । भर्ना प्रक्रियामा कुनै अनियमितता नभएको भन्दै उहाँले यस विषयमा विरोध गरिरहनुभएका प्राध्यापक, विद्यार्थीलगायतसँग छलफल गरी उहाँहरुलाई कुरा बुझाएर मात्र भर्ना लिने थपलियाले बताउनुभयो । आफूले विरोध जनाएकालाई वार्तामा बोलाएको बताउँदै उहाँले भर्ना प्रक्रिया नियमसम्मत भएकाले कुनै समस्या नहुने उल्लेख गर्नुभयो ।

प्रवेश परीक्षामा अनियमितता भएको भन्दै विश्वविद्यालयकै प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल विद्यार्थी सङ्घलगायतले विरोध जनाएका छन् भने नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले सो विषयमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

चालकको स्वास्थ्य र सवारीको इञ्जीन परीक्षण

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सवारी दुर्घटना बढ्दै गएपछि बिहीबार चालकको स्वास्थ्य परीक्षण र सवारीको इञ्जिन जाँच गराएको छ ।

भरतपुर महानगरपालिका वडा नं १ रामनगरमा आयोजित कार्यक्रममा २०२ जना सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको छ, जसमध्ये ९९ जनाको मेडिकल र १०३ जनाको आँखा परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा २० जनामा उच्च रक्तचाप र सात जनामा आँखाको समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार ९७ वटा सवारीको इञ्जिन परीक्षण गरिएको थियो । परीक्षणका क्रममा सवारीसाधनमा बे्रक आयल कम, प्रेसर कम, मोबिल चुहिनेलगायतका समस्या देखिएको थियो ।

चालकमा समस्या देखिएकालाई अस्पतालमा गएर उपचारपछि मात्र सवारी चलाउन निर्देशन दिइएको र सवारीमा समस्या देखिएकालाई मर्मतपश्चात् मात्र सञ्चालनमा ल्याउन भनिएको गौतमले जानकारी दिनुभयो । भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, यातायात व्यवस्था कार्यालय भरतपुर र अटो मेकानिकल्स व्यवसायी सङ्घको संयुक्त सहकार्यमा कार्यक्रम गरिएको थियो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *