पर्वतमा स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरुको संख्या बढदै

Featured गण्डकी प्रदेश विशेष समाचार समाज स्वास्थ्य

१६ आषाढ २०७८, पर्वत। पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । पर्वत जिल्लामा पनि २०७६ साल फागुन महिनाबाट लागु भएको स्वास्थ्य बीमा कार्यक्रम निरन्तर रुपमा संचालनमा रहेको छ ।
हाल सम्म पर्वत जिल्लामा ५८८२ परिवार अन्तर्गत १३२७५ सदस्यको बीमा भएको स्वास्थ्य बीमा बोर्ड पर्वतका जिल्ला संयोजक बिक्रम भुवाजीले जानकारी दिनु भयो । जम्मा सदस्यहरु मध्ये महिलाहरुले बिमा गर्नेको संख्या ६८८७ जना रहेका छन भने पुरुष तर्फ ६३८८ जना विमित भएका छन ।
स्वास्थ्य बीमा कार्यक्रमअनुसार जेष्ठ नागरिक, अति अशक्त, अति गरिब, HIV Aids, कुष्ठरोगी, MDR-Tv रोग लागेका नागरिकलाई निशुल्क १ लाख सम्मको स्वास्थ्य बीमा गरिदिने प्रावधान रहेको छ भने महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई नेपाल सरकारले ५० प्रतिशत छुट प्रदान गरि बीमा सुविधा प्रधान गरेको छ ।
पर्वत जिल्लामा छुट सुविधा पाउने मध्ये जेष्ठ नागरिक ३४९० जना, अतिअशक्त परिवार तर्फ ३२२ जना, गरिब परिवार तर्फ १६ जना, महिला स्वयमसेविका परिवार तर्फ ४७४ जना, HIV Aids रोगी परिवार तर्फ ८५ जना र कुष्ठरोगी परिवार तर्फ ५ जनाले छुट सुविधा अन्तर्गत न्युनतम वर्षमा १ लाख रुपैयाँ सम्मको स्वास्थ्य बीमा प्राप्त गरेको स्वास्थ्य बिमा बोर्ड, जिल्ला कार्यालय पर्वतका दर्ता अधिकारी हेल्थ असिस्टेन्ट टीका कुमारी श्रीसले जानकारी दिदै महिला स्वयमसेविका, HIV Aids, गरिब र कुष्ठरोगी माथिको संख्या उनीहरुको परिवार सदस्य संख्या सहितको रहेको कुरा पनि उल्लेख गर्नु भयो ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन के गर्नुपर्छ ?
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार ३ हजार ५०० रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ७०० रुपैयाँको दरले थप शुल्क बझाउनुपर्छ । स्वास्थ्य बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम तिरिदिने गरेको छ । अति गरिब,एच.आइ.भी. संक्रमित,कुष्ठरोगी,अति अशक्त अपाङ्गता भएका परिवारलाई शत प्रतिशत,स्वास्थ्य स्वयंसेविकाको परिवारलाई ५० प्रतिशत छुट,७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकले शत प्रतिशत छुट पाउने छन् । स्वास्थ्य बीमाबाट १ लाखसम्मको उपचार सेवा पाउने व्यवस्था छ ।

बीमा कार्यक्रमबाट कस्ता सेवा पाइन्छ ?
स्वास्थ्य बीमा गर्ने जो कोहीले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट बहिरङ्ग अर्थात ओ.पी.डी सेवा,आकस्मिक,अन्तरङ्ग सेवा पाउने छन् । अस्पताल भर्ना भएर लिनुपर्ने सेवामा क्याबिनको सुविधा उपलब्ध हुने छैन । यस्तै एक्स-रे, इसिजी, अल्ट्रासाउण्ड, एम.आर.आई., सिटी स्क्यान,रगतको जाँच, साना-ठूला शल्यक्रियाहरू र तोकेको मूल्यमा चश्मा,श्रवणयन्त्र, सेतो छडी,बै शाखी सेवा प्राप्त गर्न सक्नेछन् ।
यस्तै सरकारले तोकेको सूचीकृत औषधि निःशुल्क प्राप्त गर्न सक्नेछन् । तर,गम्भीर चोटपटकका लागि गरिने उपचार,ओठ,तालु,काटिएकोमा गरिने सर्जरी बाहेकको प्लाष्टिक तथा कस्मेटिक सर्जरी आदि भने निःशुल्क हुने छैन ।

एक पटक स्वास्थ्य बीमा गरेपछि सधैँ सेवा पाइन्छ ?
बीमित व्यक्तिले स्वास्थ्य सेवाबाट निरन्तर सेवा लिनका लागि हरेक वर्ष नवीकरण गर्नुपर्दछ । यसका लागि सुरुमा जुन चक्रमा दर्ता भएको हो,सोही चक्रमा नवीकरण गर्नुपर्ने हुन्छ ।
बीमा सदस्यता दर्ता गरिसकेपछि सेवा पाउनका लागि निश्चित चक्र पार गर्नुपर्छ । जस्तै वैशाख,जेठ,असार महिनामा सदस्यता दर्ता गरेका बीमितले भदौ १ गतेबाट सेवा पाउन सक्छन् । तर,बीमितले अर्को वर्षको साउन मसान्तसम्म मात्रै सेवा लिन पाउने छन् । बीमा सदस्यता दर्ता गरेको ३ महिनापछि मात्रै स्वास्थ्य सेवा लिन पाउने प्रावधान छ ।

सेवा नलिएमा योगदान रकम फिर्ता हुन्छ त ?
परिवारको सामूहिक स्वास्थ्य सुरक्षाका लागि तिरिएको रकम सेवा नलिए पनि फिर्ता भने हुँदैन । निरन्तर सेवा पाउनका लागि पुनः अर्को वर्ष नवीकरणबापत पैसा तिर्नु पर्छ ।

स्वास्थ्य बीमा विधेयकमा के छ ?
नेपालको संविधान ०७२ को धारा ५१ (१५) मा राज्य नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ ।
गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको प्रतिवद्धता सहितको प्राथमिकता स्वास्थ्य बीमा ऐन ०७४,स्वास्थ्य बीमा नियमावली २०७५,राष्ट्रिय स्वास्थ्य नीति ०७६ मा उल्लेख छ ।
ऐनले नवजात शिशु,ज्येष्ठ नागरिक,एकल महिला,अपाङ्गता भएका व्यक्तिलाई समेत समेटेको छ । जस अन्तर्गत वृद्धाश्रम,अनाथालय,सुधार गृहमा रहेका नागरिकलाई सोही संस्थाले बीमित गराउनुपर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *