निशुल्क हो, एक पटक पीसीआर गरौँ भन्ने होडवाजीले राज्यलाई आर्थिक भार मात्रै थपिन्छ !

समाचार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै कोरोना संक्रमणको दर दिन–प्रतिदिन उच्च बन्दै गइरहेको भन्दै उपत्यकावासीलाई थप सावधानी अपनाउन आग्रह गर्नुभएको छ । ‘काठमाडौँ महानगरपालिकासँगै उपत्यकामै कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ,’ उहाँलले भन्नुभयो, ‘हामी सबैले सतर्कता नअपनाउने हो भने अवस्था थप भयावह हुनसक्छ । हामी कोही पनि त्रसित हुनु पर्दैन । तर, सावधानी सबैले अपनाउनै पर्छ ।’

उपत्यकावासीले यस अघि पनि लामो समयसम्मको लकडाउनलाई पूर्ण पालना गरी सरकारलाई सहयोग गरेको स्मरण गराउँदै प्रमुख शाक्यले अझै केही सयम कष्ट सहेर भए पनि निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । ‘संघीय, प्रदेश र स्थानीय सरकार कोरोना नियन्त्रणको प्रयासमा निरन्तर लागेको छ,’ उहाँले भन्नुभयो, ‘सरकारले गरेको आग्रहलाई पूर्ण पालना गरी तपाईँहरुले सावधानी अपनाउनु भयो भने संक्रमणको संम्भावना निकै कम हुन्छ । सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित हुनुभयो भने हामी उपचार गर्न तयार छौँ । तीन ओटै सरकार कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लागेको छ । कोरोनाका कारण सकेसम्म कसैले पनि ज्यान गुमाउने अवस्था आउनु हुँदैन भन्नेमा संघ, प्रदेश र स्थानीय तह सचेत छ ।’

उहाँले लकडाउन हटे पनि कोरोना अझै हटेको छैन भन्ने बुझाउन नसक्दा पुनः कोरोनाको संक्रमण फैलिदै गएको भन्दै पछिल्लो समय उपत्यका भित्रिनेको संख्यामा भएको उल्लेख्य वृद्धिले संक्रमणको खतरा बढेको बताउनुभयो । ‘परीक्षण गरेर आउनेले आफू र अरुलाई पनि सुरक्षित बनाए,’ उहाँले भन्नुभयो, ‘तर, लुकिछिपी ल्याउने र आउनेले गर्दा उपत्यका अशान्त भयो ।’

शाक्यले सावधानी नअपनाउने तर पीसीआर परीक्षणमा मात्रै ध्यान दिने हो भने त्यसले मुलुकको ठूलो धनराशी खर्च हुने र अर्थतन्त्रमा समेत नराम्रो असर गर्ने बताउनुभयो । ‘पीसीआर परीक्षण कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम परिक्षण मात्र हो । यो औषधी होइन र यसले कोरोना रोकथाम गर्दैन,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने पाँच लाख ८९ हजार ८ सय ९९ सयको आरटी पीसीआर टेष्ट गर्दा ३० हजार ४ सय ८३ जना व्यक्तिको कोरोना पोजेटिभ देखिएको छ ।’

त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय खर्च भएको भन्दै शाक्यले एउटा पोजेटिभ व्यक्ति भेट्न सरकारले १ लाख ४ हजार ६ सय ३० खर्च गरेको स्मरण गराउनुभयो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्याङ्क अनुसार पीपीई वाहेक ल्याब टेष्टमा मात्रै एक जनाका लागि नेपाल सरकारको पाँच हजार पाँच सय खर्च गरेको छ । त्यसपछिको उपचारका लागि आइसीयुमा ३० दिन राख्नुपर्दा ४ लाख ५ हजार खर्च हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले यस्तो खर्चिलो पीसीआर परीक्षण जथाभावी रुपमा गरेर दुरुपयोग नगरौँ ।’

उहाँले संक्रमणको सम्भावना भएका र गर्नैपर्ने बाहेकका व्यक्तिले निशुल्क हो, मेरो पनि एक पटक गरौँ न त भन्ने होडवाजीमा जथाभावी परीक्षण गर्ने हो भने त्यसको दुरुपयोग हुनेतर्फ पनि संकेत गर्नुभयो । ‘गर्नेपर्ने व्यक्ति छ भने राज्यले खोजी–खोजी परिक्षण गर्छ । तर, निशुल्क पाइयो भनेर र पहुँचका भरमा आशंका नै नभएका व्यक्तिले पनि पटक–पटक परीक्षण गर्ने हो भने सम्भावित संक्रमितको पहुँचमा परीक्षण नपुग्ने अवस्था हुनसक्छ,’ उहाँले भन्नुभयो,’ ‘त्यसले राज्यलाई अनावश्यक आर्थिक बोझ मात्रै थुपार्छ । त्यसैले तपाईँहरु बढी त्रसित नहुनुहोस् । तर, जसग रहनुहोस् । कोरोना संक्रमणको सम्भावित व्यक्तिलाई खोजी–खोजी परिक्षण गर्छौ र संक्रमितको उपचार गर्छौ ।’

काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा १० ओटा कन्ट्राक्ट ट्रेसिङ टोली बनाएर काम गरिरहेको छ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र मात्रै संक्रमितको संख्या करीब १५ सय पुगेको छ भने होम आइसोलेशनमा बस्नेको संख्या करीब ३ सय ५० छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *