चितुवाको निगरानीलाई क्यामेरा

Featured विशेष समाचार

तनहुँ, १७ मङ्सिर  ः नरभक्षी चितुवाले भानु नगरपालिका क्षेत्रमा १५ दिनको अवधिमा दुई बालबालिकाको हत्या गरेपछि त्यसको निरन्तर निगरानी गर्नका लागि क्यामेरा राखिने भएको छ ।

चितवन राष्ट्रिय प्रकृति संरक्षण कोषको ‘डार्टिङ” टोलीले सम्भावित क्षेत्रमा चार वटा क्यामेरा राख्न लागेको जिल्ला वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । सम्भावित क्षेत्रमा क्यामेरा राखेपछि चितुवा कता गइरहेको छ भन्ने विषयमा जानकारी लिन सजिलो हुने उहाँले बताउनुभयो ।

चितुवाको आक्रमणबाट भानु नगरपालिका क्षेत्रमा १५ दिनको अवधिमा दुई बालबालिकाको ज्यान गएपछि चितुवालाई नियन्त्रण गर्न पासो थापे पनि नियन्त्रणमा लिन नसकेपछि पुनःविज्ञ टोली आएर उक्त क्यामेरा राख्न लागेको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी, सशस्त्र वन रक्षक, प्रकृति संरक्षण कोषको डार्टिङ टोली समेतलाई परिचालन गरी चितुवा नियन्त्रणको लागि प्रयासहरु भैरहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

चितुवा नियन्त्रणको लागि साँझपख बाख्रासहितको पासो थाप्ने, सामुदायिक वन उपभोक्ता समूहबाट वनको झाडी सफा गर्ने, साँझ, बिहान प्रहरी गस्ती परिचालन गर्ने, वन कार्यालय र नगरपालिकामार्फत स्थानीय एफ.एम रेडियोबाट सुरक्षा उपायहरुको जानकारीमूलक सूचना प्रसारण गर्ने तयारी छ । त्यस्तै चितुवाको वास्तविक अवस्था थाहा पाउन चितुवाको दिसा र रौसमेत परिक्षणको लागि सम्बन्धित निकायमा पठाउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

चितुवा नियन्त्रणमा नआएसम्म त्यस क्षेत्रमा सुरक्षा फौज र स्थानीय समुदाय निरन्तर रुपमा परिचालन गरिने भएकाले साँझ, बिहानको समयमा महिला तथा बालबालिकालाई बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । ––– (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *