आगलागीमा नेताकै नेतृत्वको ‘दारु पार्टी’ मुख्य कारण, छानविन गर्दै प्रहरी

Featured विशेष समाचार समाज

कालिकोट : कालिकोटको खाडामा गत साता रक्सी पार्टीका कारण आगलागी भएको हुनसक्ने बुझिएको छ ।

रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट आगो सल्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख विनोद शर्माका अनुसार घटनाका दोषीहरु केही दिनमै सार्वजनिक हुने छन् ।

‘को को व्यक्ति कहाँ दारु पार्टी गरेर आगलागी भयो भन्ने कुरा पनि केही दिनमा सार्वजनिक गर्छौँ । मान्छेहरु पनि पहिचान गरिसकेका छौँ । उनीहरुलाई पक्राउ गर्ने तयारी भएको छ । दारु पार्टीमा संलग्नहरु पक्राउ गरेसकेपछि सबै बिबरण बाहिर आउँछ,’ डिएसपी शर्माले भने ।

प्रहरीका अनुसार उक्त पार्टी सरकारी कर्मचारी र जनप्रतिनिधिहरुकै नेतृत्वमा भएको हो । सबै व्यक्तिबारे अनुसन्धान भइरहेको पनि शर्माले बताएका छन् । शर्माले भने, ‘आगलागी गराउने व्यक्तिहरुको पहिचान भइसकेको छ । दारु पार्टीमा खाएको चुरोटका ठुटाबाट सल्किएको आगोले गाँउमा आगलागी भएको हो ।’
यसबारे पूर्ण बिबरण छिट्टै सार्वजनिक गर्ने उनले बाए ।

गलत सूचना दिने हवलदार निलम्वन
खाडाको आगलागीको गलत बिबरण सहितको सूचना दिएको भन्दै इलाका प्रहरी चौकी थिर्पुमा कार्यरत प्रहरी हवलदार यज्ञबहादुर खड्कालाई निलम्वन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी शर्माले आगलागीको गलत बिबरण टिपाएको भन्दै प्रहरी हवलदार खड्कालाई निलम्बन गरेको बताए ।

पुस ८ गते राति करिब १ बजेर ४० मिनेटमा खाडामा आग्लागी भएको थियो । प्रहरीले २ बजेतिर जानकारी पायो । जानकारी पाउनासाथ थिर्पुबाट प्रहरी हवलदार खड्का सहितको प्रहरीको टोली घटना स्थल तिर गएको थियो ।

हवलदार खड्काको टोली बिहान साढे ६ बजेमात्र पुगेको थियो । जिल्लाको सुरक्षा निकायहरुको बिबरण पठाउने पहिलो व्यक्ति नै खड्का रहेको बुझिएको छ । गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपाने, वडाध्यक्ष मानबहादुर भण्डारीले पनि गलत सूचना फैलाएको पुष्टि भएको छ ।

 

– अन्नपुर्ण पाेस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *