हरियाली बढाउँदै निजी वन

समाचार

घोराही, १९ मङ्सिर 

हापुर–५ का श्रीलोचन लामिछाने निजी वनका पारखी हुनुहुन्छ । उहाँले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको आफ्नो १०१ कट्ठा जग्गामा वृक्षरोपण गर्नुभएको छ । जिल्ला वन कार्यालयबाट स्वीकृति लामिछानेले निजी जग्गामा बिरुवा रोपेर हरियाली बनाउनुभएको हो ।

घोराही उपमहानगरपालिका–१६ का प्रेमराज लोहोनीले पनि आफ्नो जग्गामा निजी वन बनाउनुभएको छ । उहाँले १३६ कट्ठा जग्गालाई २०४३ सालमा निजी वनमा परिणत गर्नुभएको हो । घोराही–५ धर्नाका सकुन्ताला श्रेष्ठले पनि घोराही–७ सर्रामा ५७ कट्ठा जग्गामा निजी वन बनाउनुभएको छ । यस्तै घोराही–१४ का विमला खत्रीले पनि तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको ८० कट्ठा जग्गामा निजी वन बनाउनुभएको छ । उनीहरु जस्तै जिल्लाका करीब ३०० व्यक्तिले विभिन्न ठाउँमा आफ्नो निजी जग्गामा वन बनाउनुभएको छ ।

जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार एक कट्ठादेखि करीब २५० कट्ठासम्मको जग्गामा व्यक्तिले निजी वन बनाएका छन् । जिल्लामा करीब चार हजार ८१ कट्ठा अर्थात् १३८ हेक्टर जमीन निजी वनले ओगटेको तथ्याङ्क छ । चालु आर्थिक वर्ष २०७३÷७४ मा मात्र करीब दुई दर्जन बढी व्यक्तिले जिल्लामा आफ्नो जग्गालाई निजी वनमा परिणत गरेका छन् । चालु आवमा पनि कार्यालयले निजी वन दर्ता प्रक्रियालाई अगाडि बढाएको छ । सूचना अधिकृत खिमबहादुर केसीका अनुसार कार्यालयले निजी वन बनाउने व्यक्तिलाई प्रोत्साहन तथा पुरस्कृत गर्दै आएको छ ।

निजी वन विकास तथा वृक्षरोपणको लागि केन्द्रीय वन नर्सरी, सेक्टर वन नर्सरी, इलाका वन नर्सरी तथा निजी नर्सरी सञ्चालकबाट आव २०७४÷७५ मा करीब नौ लाख बिरुवा खरिद गरेर वितरण गरेको सूचना अधिकृत केसीले बताउनुभयो । ती सबै बिरुवा कार्यालयले निजी वनलाई वितरण गरेको थियो । ‘अहिलेका बिरुवा तपार्इं÷हाम्रा नानीका भविष्य हुन्, यिनको संरक्षण र उपयुक्त व्यवस्थापन गर्नु हाम्रो कतव्य हो’ नारा लिएर कार्यालयले निजी वन विकास गर्न प्रोत्साहन गर्दैआएको छ । अहिले निजी वनप्रति नागरिकको आकर्षण बढ्दै गएको छ ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *