भेटेरिनरी अस्पताल पर्वतको आयोजनामा कुकुरहरुको बन्ध्याकरण शिविर हुदै

समाचार

४  फागुन २०८० पर्वत, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ गाउँपालिकाको हुवास बजारमा र फागुन ७ गते कुश्मामा हुने भएको छ । कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोगमा कुकुरहरुको बन्ध्याकरण शिविर र निशुल्क रेबिज विरुद्धको खोप कार्यक्रम संचालन हुन लागेको पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी प्रसाद पौडेलले जानकारी दिनु भयो ।

समुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिज रोगको प्रकोप न्यूनीकरण गर्न सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गर्न लागिएकोले शिविरमा खटिएको टोली सामुदायिक कुकुर नियन्त्रणका लागि बजारका विभिन्न स्थानमा जाने र आफ्नो टोलमा रहेका सामुदायिक कुकुरहरुलाई नियन्त्रणमा सहयोग गर्न कुश्मा बजार र हुवास बजारका सम्पुर्ण जनसमुदायलाई प्रमुख पौडेलले आग्रह पनि गर्नु भयो ।

हाल बजारका विभिन्न स्थानहरुमा सामुदायिक कुकुरले जथाभावी मानिसलाई टोक्ने र दुख दिने गरेका छन । शिविरमा पहिलो प्राथमिकता सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि हुने र सो पछि घरमा पालेका कुकुरहरुको बन्ध्याकरण हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारले जानकारी दिनु भयो । बन्ध्याकरण शिविर विगत २ वर्ष देखि कुश्मामा मात्र संचालन हुदै आएको र यस वर्ष पैयुँको हुवास बजारमा पनि शिविर हुन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *