सतीघाँटु र सोरठी हेर्न पाण्डवखानी

गण्डकी प्रदेश पर्यटन विशेष समाचार

बालकृष्ण सुबेदी

बागलुङ, १९ चैत – गुरुङ र मगर समुदायको मौलिक पहिचान बोकेको लोपोन्मुख सतीघाँटु र सोरठीको जगेर्ना गर्दै पर्यटन विकासमा यहाँका जनजाति समुदाय अग्रसर बनेका छन् । जिल्लाको गलकोट नगरपालिका १० पाण्डवखानीका स्थानीयले घरबास कार्यक्रममार्फत सँस्कृति र पर्यटनलाई एकसाथ अघि बढाउन लागेका हुन् । सिद्धथान सामुदायिक होमस्टे सञ्चालनको तयारीमा जुटेका स्थानीयले फरक पहिचानसाथ पर्यटकलाई आकर्षित गर्ने जमर्को गरेका हुन। घुम्टेको काखमा रहेको सिद्धथानको रमणीय ठाउँमा मौलिक सँस्कृति र स्थानीय खानामार्फत गाउँको पहिचान स्थापित गर्न आफूहरु लागिपरेको होमस्टे सञ्चालक समितिका अध्यक्ष खिमबहादुर गलामी मगरले बताए । ‘प्राकृतिक उपहार, घुम्टेको काखमा घरबास कार्यक्रम र घुम्टेलाई जोडेर गुरुयोजनासहित अघि बढेका छौँ’, उनले भने,‘वर्षेनी हजारौँ आन्तरिक पर्यटक घुम्टे लेक चढ्ने गर्दछन्,उनीहरुलाई लक्षित गरेर घरबास कार्यक्रम सुरु गरिएको हो ।’
स्थानीय हिमाल पुनका अनुसार घुम्टे चढ्न आउने पर्यटक एक–दुई दिन गाउँमा बस्न खोजे पनि बस्नको लागि कुनै ब्यबस्था नभएको बेला होमस्टे सुरु गर्न लागिएको हो । होमस्टेमा लोपोन्मुख सोरठी, घाँटुलगायतका नाच मुख्य आकर्षण हुने उनले सुनाए । यसअघि गाउँमा बुद्धजयन्तीमा घाँटु देखाउँदै आइएको थियो । नाच हेर्न कोही आए बासकै समस्या हुने गरेकोले पनि होमस्टे कार्यक्रम सुरु गरिएको स्थानीय छम काउचाले बताए ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाण्डवखानीमा पाँच पाण्डबले खानी खनेको विश्वास गरिन्छ । सिद्धथानदेखि रमुवा सम्मको स्थानीय सँस्कृति र खानाको पहिचान जोगाउँदै युवाहरूको सक्रियतामा होमस्टे सुरु हुँदा स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुने वडा अध्यक्ष तिलक घर्ती मगरले बताए । सिद्धथानमा घरबास कार्यक्रम सञ्चालन गर्दा वरपर गाउँका किसानका उत्पादनहरु समेत उपयोग गर्ने सोच बनाएको उनको भनाई छ ।

गलकोट नगरपालिकाबाट दूरीका हिसाबले रमुवा धेरै टाढा भए पनि गाउँलेको सामूहिक प्रयासबाट विकास असम्भव नभएको भन्दै अध्यक्ष मगरले स्थानीयहरु आफै सबल बन्न जरुरी रहेको बताए । गण्डकी प्रदेश सरकारको दस लाख सहयोगमा पहिलो चरणमा सात घरबाट होमस्टे सुरु गरिने र त्यसको बिस्तार गर्दै जाने त्यसलाई बिस्तार गर्दै जाने अध्यक्ष खिमबहादुर काउचाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *