सडकविहीन दुई स्थानीय तह, कामकाजमा समस्या

विशेष समाचार

बैतडी, १७ मङ्सिर 

विकासका पूर्वाधारमध्येको प्रमुखका रुपमा रहेको सडक तथा यातायातबाट बैतडीका दुई स्थानीय तह टाढा रहेका छन्् ।

जिल्लाका दुई वटा स्थानीय तहका केन्द्रमा अझै सडक पुग्न सकेको छैन । जिल्लाको सिगास र डिलाशैनी गाउँपालिकाका केन्द्रमा सडक पुग्न नसकेको हो । स्थानीय तहका केन्द्रमा सडक नपुग्दा सेवा प्रवाहमा असहजता भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

अझैसम्म पनि गाउँमा सडक नपुग्दा त्यहाँका नागरिक पैदल हिँडेर दैनिकी चलाउन बाध्य छन् । सडक नपुगेका स्थानीय तहका बासिन्दा कष्टकर जीवन बिताइरहेका छन् । गाउँमा सडक नपुगेकाले बिरामी पर्दा त्यहाँका बिरामीलाई घण्टौँ बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको छ ।

सिगास गाउँपालिकामा अहिलेसम्म सडक पुग्न नसकेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । गाउँपालिकाका १, २ र ३ नम्बर वडालाई मात्र सडकले छोएको धामीले बताउनुभयो । गाउँपालिकाका बाँकी छ वडामा सडक पुग्न बाँकी छ । धामीका अनुसार अबको एक वर्षभित्र गाउँपालिका भरि सडक पु¥याउने लक्ष्य गाउँपालिकाले राखेको छ । गाउँमा सडक नपुग्दा आफूहरुलाई धेरै समस्या हुने गरेको सिगास गाउँपालिका–७ का शिक्षक चक्रबहादुर साउँदले बताउनुभयो ।
डिलाशैनी गाउँपालिकामा पनि सकड नपुग्दा धेरै समस्या भएको वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताउनुभयो । रानाका अनुसार गाउँपालिकाको वडा नम्बर २, ३ र ६ को केही भागमा सडकले छोए पनि अन्य ठाउँमा सडक पुग्न सकेको छैन । अहिले स्थानीय सरकार सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले केही समयमै डिलाशैनीका सबै ठाउँमा सडक पुग्ने रानाले बताउनुभयो ।

प्रदेश र सङ्घीय सरकारले वडा–वडालाई सडक सञ्जालले जोड्ने घोषणा गर्दै आएको भए पनि बैतडीका दुई वटा स्थानीय तहमा सडक सञ्जालसँग जोडिन बाँकी छन् ।

जनताका समस्या समाधान गर्ने उद्देश्यले गाउँघरमै गठन भएको स्थानीय सरकारले जनताका यस्ता समस्या समाधानको लागि खासै चासो नदिएको नागरिकको गुनासो रहेको छ ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *