रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा

प्रवास समाचार

बैतडी, १२ मङ्सिर 

पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन ।

भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । नगरपालिकाबाट भारतमा रोजगारी गर्न गएकामध्ये पहिलो चरणमा १०० जनाकोे निःशुल्क दुर्घटना बीमा गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाका तीन सहकारीमा आवद्ध शेयर सदस्यका घरपरिवारबाट कोही भारत गए उनीहरुको बीमा गरिने भएको हो ।

जिल्लास्थित पाटन नगरपालिका र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज(रुडेस)को संयुक्त सहकार्यमा पाटनस्थित उदयदेव महिला बचत तथा ऋण सहकारी संस्था, खोड्पेस्थित सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था र सिद्धपुरस्थित महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध शेयर सदस्यका परिवारको बीमा गर्न लागिएको रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो । बैतडीका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *