यात्रुसँग मनोमानी भाडा असुली

समाचार

बैतडी, १८ मङ्सिर 

ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् ।

सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपका सिट झिक्न लगाएको थियो । यसअघि बोलेरो जिपले १५ जनासम्म यात्रु बोक्ने गरेकामा अहिले पाँच जना मात्र बोक्नुपर्ने बाध्यता छ ।

एउटा जिपमा पाँच जना मात्र बोक्न पाइने भएपछि आवतजावत गर्न निकै मुश्किल भएको दशरथचन्द नगरपालिका–४ का चन्द्रप्रकाश लोहिया बताउनुहुन्छ । “गाडी कुर्दाकुर्दै दिन बित्छ,” उहाँले भन्नुभयो, “बसपार्कबाटै जिप नचढे यात्रा गर्नै सकिन्न ।” सवारीसाधान नपाएपछि घण्टौँ हिँडेरै यात्रा गर्नुपर्ने सुर्नया–३ की पवित्रा भट्ट बताउनुहुन्छ । जिपले चर्को भाडा असुल्ने गरेको उहाँको भनाइ छ ।

गोकुलेश्वरदेखि गन्नासम्मको भाडा रु १०० भए पनि अहिले रु २५० सम्म लिने गरेको स्थानीयवासी गङ्गासागर जोशीको गुनासो छ । सीमित मात्रामा चल्ने जिपले यात्रु महङ्गो भाडा तिर्न बाध्य भएको जोशी बताउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे बढी भाडा असुल्नेलाई कारवाही गरिने बताउनुहुन्छ ।

सम्भावित दुर्घटना न्यूनिकरण गर्न थप गरिएका जिपका सिट हटाउन लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताउनुभयो । पाँच सिट क्षमताको जिपमा १५ जनासम्म यात्रुसँगै सामान बोक्दा दुर्घटना धेरै हुने गरेको उहाँको भनाइ छ । पहिला दुर्घटना हुँदा यातायात कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था भए पनि अहिले सरकारले यातायातमा सिन्डिकेट हटाएपछि दुर्घटनामा परेका यात्रुले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *