माघको १५ गतेदेखि मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता

खेलकुद समाचार

पोखरा, १८ पुस ।

माघको तेस्रो सातादेखि मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता हुने भएको छ ।अखिल नेपाल फुटवल संघ, एन्फा कास्कीको आयोजनामा माघ १५ देखि २६ गतेसम्म प्रतियोगिता हुन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

प्रतियोगितामा आयोजक एन्फा कास्कीसहित आठ वटा नेपालको ए डिभिजन क्लब र तीनवटा विदेशी टिम गरी १२ टिमले प्रतिस्पर्धा गर्ने मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानाकारी दिए ।

विदेशी टिममध्ये जापानबाट युनिभर्सिटीको टिमको सहभागिता सुनिश्चित भएको गुरुङलेले बताए । बाँकी विदेशी टिमका लागि भारत र बंगलादेशका टिमहरुसँग छलफल भइरहेको आयोजकले जनाएको छ । आफूहरुको सम्पर्कमा आएकामध्ये उत्कृष्ठ टिमलाई छनौट गर्न लागेको अध्यक्ष गुरुङको भनाई छ । प्रतियोगितामा भाग लिने आयोजकको टिममा विदेशी खेलाडीलाई समेत सहभागिता गराइने आयोजकले प्रष्ट पारेको छ ।

प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्दै विजेतालाई ७ लाख ५५ हजार र उपविजेतालाई ४ लाख ५ हजार ५ सय ५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै पाँच विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजारसहित ट्रफी प्रदान गरिने आयोजक एन्फा कास्कीले जनाएको छ । यसअघि विजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई ३ लाख ५५ हजार रुपैयाँ नगद पुरस्कार थियो ।

प्रतियोगिताको अवसरमा फुटवल खेलमा योगदान दिने एक जनालाई सम्मान गर्दै मोटरसाइकल प्रदान गरिने जनाइएको छ । त्यस्तै, एकजना पत्रकारलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार, वर्ष उत्कृष्ट फुटवल क्लबलाई पुरस्कृत गर्ने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड १७ लाख खर्च लाग्ने एन्फा कास्कीले अनुमान गरेको छ । प्रतियोगिताबाट १ करोड २८ लाख ५० हजार संकलन गरेर ११ लाख बचत गर्ने लक्ष्य लिइएको एन्फा कास्कीका सचिव रमेश कार्कीले जनाकारी दिएका छन् । बचत रकम रंगशालाको फुटवल मैदान पुनर्निर्माण र फुटवलको विकासमा खर्च गरिने जनाइएको छ ।

कार्यक्रममा एन्फा केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले पोखरा रंगशालाको भौतिक पूर्वाधारको अभावमा समेत प्रतियोगिता आयोजना गर्न लागेकोमा एन्फा कास्कीको प्रशंसा गरे । नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षकसमेत रहेका थापाले मोफसलमा हुने प्रतियोगिताहरुलाई एन्फाको केन्द्रीय समितिबाट पूर्ण सहयोग मिल्ने प्रतिबद्धता जनाए ।

पोखरामा हुन गइरहेको दुई ठूला प्रतियोगिताहरु मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताका आयोजक एन्फा कास्की तथा आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताका आयोजक सहारा क्लब पोखरालाई एकआपसमा सहकार्य गर्न आग्रह गरे ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले छिट्टै पोखरा रंगशाला निर्माण हुने बताए । गुरुङले खेलकुद विकास समिति र सरकारबीच रंगशाला निर्माणको केही दिनमै सम्झौता हुने ठोकुवा गरे । उनले युवा तथा खेलकुदमन्त्री यही क्षेत्रका भएकाले खेलकुद विकास समितिद्धारा रंगशाला निर्माणका लागि दवाव दिइएको जनाए ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष विश्व तण्डुकारले स्वागत र महासचिव रमेश कार्कीले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *