माइक खोसेर सह–महामन्त्री महतले अपमान गरे जगदिश्वर नरसिंह केसी

राजनीति समाचार

काठमाडौं 

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले पार्टीका सह–महामन्त्री डा।प्रकाशशरण महतले माइक खोसेर आफूलाई अपमानित गराएको बताउनुभएको छ ।

पार्टीको महासमिति बैठकमा बोल्दै गर्दा केन्द्रीय सदस्य महतले आफ्नो माइक खोसेको केसीले बताउनुभयो ।  केसीले भन्नुभयो, ‘विधान नआई छलफल गर्नुको अर्थ नै नरहेको जिल्ला सभापतिहरुले बताउँदै गर्दा मैले पनि माइकबाट विधान ल्याउन अनुरोध गरिरहेको थिएँ, त्यसैबेला महत आएर माइक खोस्नुभयो ।’ माइक खोसाखोस हुँदा माइक फुटेको पनि केसीले बताउनुभयो ।

‘निर्धारित कार्यतालिकाअनुसार मंगलबार महासमिति बैठक सकिनु पर्थ्यो’, उहाँले भन्नुभयो, ‘तर आजसम्म पनि बैठकमा विधान पेश नहुँदा बैठक लम्बिरहेको छ ।’
बैठकमा भाग लिन आएका जिल्ला सभापतिहरुले पार्टी सभापतिलाई बैठकमा विधान पेश गर्न आग्रह गरेका थिए ।

पार्टी सभापतिले विधान कुर्ने भए बैठक स्थगित गरौँ भने पछि अहिले बैठक स्थगित भएको पनि केसीले बताउनुभयो ।

‘बैठकको मुख्य एजेण्डा नै विधान हो, विधान नै पेश नभएपछि बैठक लम्ब्याइरहनुको पनि कुनै अर्थ छैन’, उहाँले भन्नुभयो, ‘जतिसक्दो छिटो केन्द्रीय समितिमा सहमति जुटाएर बैठकमा विधान पेश हुनुपर्छ ।’ पार्टीको राजनीतिक, सांगठिन तथा आर्थिक प्रतिवेदन पेश भए पनि अझैसम्म विधान पेश हुन सकेको छैन ।

बैठकमा सहभागी सबै प्रतिनिधिहरु पार्टीको विधान कस्तो छ भनेर कुरिरहेको उहाँले बताउनुभयो । बैठकमा पेश नभएसम्म विधानका बारेमा आफूहरुलाई जानकारी नहुने भन्दै उहाँले बैठकमा पेश भएपछि भने आफ्नो धारणा राख्ने बताउनुभयो ।

पार्टीका अधिकांश जिल्ला सभापतिहरुले अबदेखि पार्टीको पदाधिकारी प्रत्यक्ष निर्वाचन प्रकृयाबाट चुनिनुपर्ने व्यवस्था राख्न माग अगाडि सारेको पनि उहाँले बताउनुभयो ।

अहिलेको पार्टीको विधानमा नेतृत्वले पदाधिकारी छान्न सक्ने व्यवस्था छ । तर अहिलेको अवस्थामा यो व्यवस्था उपयुक्त नहुने भन्दै सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने व्यवस्था विधानमै राखिनुपर्ने भनेर जिल्ला सभापतिहरुले सुझाव दिएको केसीले बताउनुभयो ।

लामो समयदेखि रहँदै आएको विधान संशोधन गर्नुपर्ने अवस्था रहेकाले धेरै चरणमा छलफल चलेकाले महासमिति बैठक लम्बिएको हुन सक्ने उहाँले बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *