पुुष १8
हिन्दी चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको उहाँका छोरा सरफराज खानले पुष्टि गर्नुभएको छ । प्रसिद्ध अभिनेता पटकथा तथा सम्वाद लेखक खान ८१ वर्षको हुनुहुन्थ्यो ।
उहाँको निधन डिसेम्बर ३१ साझ ६ बजे क्यानडामा भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
“हाम्रा पिता अब हामीसँग रहनु भएन,” सरफराजले सञ्चारमाध्यमलाई मृत्युबारे जानकारी गराउनु भयो । छोरा सरफराजका अनुसार उहाँको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।
अस्पतालमा उपचाररत उहाँलाई मृत घोषणा गरिनुपूर्व नै केही दिन पहिलेदेखि उहाँको मृत्युबारे सामाजिक सञ्जालमा हल्ला फैलिएका थिए ।
उहाँको मङ्गलबार क्यानडामा नै अन्तिम संस्कार गरिनेछ ।
सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट भारतीय चलचित्र क्षेत्रमा पाइला राखेका कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ ।
अभिनेता अमिताभ बच्चन र अभिनेत्री रविना टंडनले ट्वीट गर्दै उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँग कैयौँ चलचित्रमा काम गर्नुभएको थियो ।
उहाँले सन् १९७० को दशकमा संवाद लेखेर र अभिनय गरेर निकै नाम कमाउनु भएको थियो ।
अभिनय क्षेत्रमा प्रवेशपछि उहाँका शुरुवाती दिनहरू निकै संघर्षपूर्ण रहेका उहाँलाई नजिकबाट चिन्ने कलाकारहरूले बताएका छन् ।
खून पसीना, लवारिस, परवरिश, अमर अकबर एन्थनी, नसीब, कुली जस्ता चलचित्रमा उहाँले पटकथासमेत लेख्नुभउको थियो । कादर खानले अमिताभ बच्चनको अभिनय यात्रा अगाडि बढाउन पनि उनको भूमिका अहम भूमिका खेलेको बताउने गरिन्छ ।
सन् १९८३ मा कादर खानले फिल्म हिम्मतवालाको सम्वाद लेख्नुभयो उहाँको आफ्नो लागि हास्य कलाकारको भूमिका रहेको थियो । त्यसअघि नकारात्मक भूमिकामा देखिने गरेका उहाँले त्यसभन्दा फरक भूमिकामा अभिनय गर्न चाहे पनि त्यो अवसर शुरूमा उहाँलाई जुरेको थिएन । जब कादर खानले चलचित्रको सम्वाद लेख्न शुरु गर्नुभयो उहाँको फरक भूमिकामा अभिनय गर्ने चाहना पनि पूरा भयो ।
राष्ट्रपति कोविन्द र प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
यसैबीच प्रसिद्ध अभिनेता कादर खानको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको परिवारजनमा समवेदनाका प्रकट गरिएका सन्देशहरू आउन थालेका छन् ।
खानको निधनप्रति राष्ट्रपति रामनाथ कोविन्दले कादर खानको मृत्युको खवरले आफू निकै दुखी बनेको बताउनुभएको छ । “कादर खान यस धर्तीमा नरहेपनि उहाँका जीवन्त अभिनयले उहाँलाई अमर राख्नेछ,” राष्ट्रपति कोविन्दले ट्वीटरमार्फत जारी गरेको शोक सन्देशमा उल्लेख गर्नुभएको छ । “यस घडीमा कादर खानँप्रति सम्मान प्रकट गर्दै उहाँको परिवार, इष्टमित्र र शुभचिन्तकप्रति समवेदना व्यक्त गर्दछु ।”
यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मानित भारतीय कलाकार कादर खानको निधनप्रति मा दुःख व्यक्त गर्नुभएको छ । उहाँलाई एक विलक्षण अभिनय सीप भएका, भिन्नै खालका हाँस्य कलाकार तथा कुशल सम्वाद लेखकका रूपमा स्मरण गर्नुभएको छ ।
मोदीले ट्वीटरमा लेख्नुभएको छ, “कादर खानजीले उहाँको अद्वित्तीय अभिनय तथा लेखन शैलीका कारण स्क्रिनलाई उज्ज्वल पानुभएको छ । उहाँको निधनले मलाई दुःखी बनाएको छ । यस घडीमा उहाँको परिवार र प्रशंसकप्रति समवेदना !”
भारतीय सिनेमा जगतका हस्तीहरू अमिताव वच्चन, अनिल कपूर, अनुपम खेर विक्की कौशल, अर्जुन कपूर, ऋषि कपूर लगायतले कादर खानको निधनपछि उहाँलाई आफ्नो जीवनका विभिन्न चरणमा भएका सम्बन्धहरूलाई स्मरण गरेका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा सन् १९३५ को अक्टोबर २२ मा जन्मनु भएका उहाँले जीन्दगीको अधिकांश समय भारतीय सिनेमा क्षेत्रमा विताउनुभएको थियो ।
–––