बेलचौतारामा गण्डकी प्रदेशस्तरीय विश्वविद्यालय स्थापनास्थापना गरिने

गण्डकी प्रदेश विशेष समाचार

दमौली, १५ पुस 

तनहुँको शुक्लागण्डकी नगरपालिकामा–५ बेलचौतारामा गण्डकी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरिने भएको छ ।

प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि शुक्लागण्डकी उपयुक्त देखिएको भन्दै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको हो । विश्वविद्यालय स्थापना गर्न गठित प्रारम्भिक अध्ययन समितिले उक्त ठाउँ उपयुक्त भएको प्रतिवेदन दिएपछि सो निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

बेलचौतारामा रहेको ४७५ रोपनी जग्गा प्रदेश सरकार मातहत ल्याउन सङ्घीय सरकारलाई अनुरोध गरिएको छ । सङ्घीय सरकारले उक्त जग्गा प्रदेश सरकारलाई दिने निर्णय गरे लगत्तै विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढाइनेछ ।

विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले प्रा डा गणेशमान गुरुङको संयोजकत्वमा समिति गठन गरेको थियो । प्रदेश सरकारले विश्वविद्यालयको स्वरुप र सञ्चालन ढाँचा अध्ययन गर्न डा तीर्थबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । सम्भाव्यता अध्ययन गर्न आर्थिक वर्ष २०७५÷७६ को बजेटमा रु एक करोड विनियोजन गरिएको छ ।

गत मङ्सिर २ गते मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङसहित आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, सामाजिक विकासमन्त्री नरदेवीलगायतको टोलीले सो जग्गाको निरीक्षण गरेको थियो । नगर प्रमुख किसान गुरुङले प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुनु खुशीको कुरा भएको भन्दै आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *