प्रदेश योजना आयोगका सदस्य बरालको शपथ

गण्डकी प्रदेश विशेष समाचार

कास्की, २८ मङ्सिर (रासस) ः गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा विष्णुराज बरालले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा मन्त्रिपरिषद्का सदस्यहरुकोे उपस्थिति थियो ।

गत साउनमा तीन महीनाका लागि आयोगको विज्ञका रुपमा नियुक्त डा बराललाई मङ्सिर १९ गतेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । लमजुङ क्वोलासोथार गाउँपालिकाका ३५ वर्षीय डा बराल जलविद्युत्, सिँचाइ तथा पूर्वाधार विषयका विज्ञ मानिनुहुन्छ ।

सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ऊर्जा तथा पूर्वाधार विकासमा दक्षता हासिल गरेका डा बरालको सदस्य पदमा भएको नियुक्तिले प्रदेशको नीति तथा योजना निर्माणमा सरकारलाई फाइदा पुग्ने बताउनुभयो ।

प्रदेश सचिव लक्ष्मीराज पौडेलले सरकारको योजना बनाउनका लागि दिइएको जिम्मेवारीलाई बरालले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

डा बरालले प्रदेशको आवश्यकताअनुसार विकासका लागि योजना बनाउन आफू लागि पर्ने बताउँदै आफूले प्राप्त गरेका ज्ञान र अनुभवलाई प्रदेशको विकासमा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *