पाल्पा, १५ मङ्सिर
पाल्पा–बुटवल सडक स्तरोन्नतिका लागि मङ्सिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने भएको छ ।
बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा दैनिक सडक बन्द हुने भएको हो । बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताउनुभयो ।
बिरामी बोकेका एम्बुलेन्सबाहेक अन्य सवारीसाधन छ घण्टा नै रोकिनेछन् । सडकमा खसेको ढुङ्गा फुटाइ हटाउनुपर्ने, पहिरो हटाउनुपर्ने तथा सडक मर्मत सम्भार गनुपर्ने हुँदा सडक बन्द गर्न बाध्य भएको अधिकारी आचार्यले बताउनुभयो ।
दोभानको चिडियाखोलादेखि भुतखोला क्षेत्रको सडक बाह्रै महीना जोखिममा चालक सवारी चलाउन बाध्य छन् । स्थानीय बासिन्दाका अनुसार दोभानको सिद्धबाबा क्षेत्रमा हिउद तथा वर्षायाममा पहिरो खस्दै आएको छ । ढुङ्गासहितको पहिरोले सवारी दुर्घटना रोकिएको छैन । यस क्षेत्रमा पहिरोले मानवीय क्षति हुँदै आएको छ ।
मूर्ति प्रतिस्थापनका लागि महायज्ञ
गणेश मूर्ति प्रतिस्थापन समितिको आयोजनामा फागुन १ देखि १५ सम्म तानसेन टुँडिखेलमा महायज्ञ हुने भएको छ । सो अवसरमा तानसेन टुँडिखेलमा रहेको गणेश मूर्ति तानसेन–१० गुफाचौरमा प्रतिस्थापन गरिने भएको हो ।
समितिका अध्यक्ष तथा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले फागुन महीनामा महायज्ञ सञ्चालन गरी मूर्ति प्रतिस्थापन गर्ने बताउनुभयो ।
(रासस)