निर्मला प्रकरण : निसाफ नदिने ?

समाचार

मङ्सिर १३, पोखरा

आँगनमा तुलसीको बोट छ । कति फुलिरहेका, कति ओइलाउन लागेका फूल । तर, दुर्गादेवी पन्त न छुन सक्छिन्, न त हेर्न । उखेलेर फाल्न पनि सक्दिनन् । उनैले रोपेको फाल्नु कसरी ! तुलसी र फूल छोरी निर्मलाको अन्तिम नासो हो । फूल फुल्न नपाउँदै निर्मला निमोठिइन् । १० साउनमा घरबाट निस्केकी उनी कहिल्यै फर्केर आइनन् । ११ साउनमा नजिककै उखुबारीमा शव भेटियो । १३ वर्षको कलिलो उमेरमै सामूहिक बलात्कारपछि हत्या भयो । रोपेका फूल ओइलाउन थाले । कसले मार्‍यो ? पत्तो छैन ।

१० साउन दिउँसोबाट दुर्गादेवीले छोरी खोज्न थालिन्, ११ साउनपछि हत्यारा खोजिरहेकी छन् । खोजेको खोज्यै छन्, दिनरात अविराम । खाने–सुत्ने ठेगान छैन । वडा प्रहरीदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगिन् । उसै त पातलो शरीर, छोरीको तापले पातलिँदै छ । ३ मंसिर साँझ त्यही आँगनीमा बसेर दुर्गादेवीलाई सोधियो, “थाक्नुभएन ?” भनिहालिन्, “छोरीले रोपेर गएको यो फूल त उखेल्न सक्दिनँ, उनको हत्यारा पत्ता नलगाई कसरी रोकिनु, कसरी थाक्नु ?” बोली दबे पनि छोरीको प्रेम र न्यायको भोक सहजै महसुस हुन्थ्यो ।

न्यायको अनुभूतिका लागि राज्य चाहिएको हो । यसबीच चर्को जनआक्रोश थामथुम पार्न सरकारले कञ्चनपुर प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई स्पष्टीकरण सोध्दै बर्खास्त गर्नेबाहेक थप राहत अनुभूति दिलाउन सकेन । दुर्गादेवीलाई यत्तिले मात्र पुगेको छैन । उनलाई चाहिएको त निर्मला बलात्कार र हत्याको अपराधी हो, जुन मागका अघिल्तिर सरकारी निर्णय अत्यन्तै अपुग हो ।

राज्य, न्याय, आन्दोलन, नाराजुलुस, धर्ना– निर्मला मारिनुअघि आमा दुर्गादेवीलाई उत्रो ख्याल थिएन । उनी दिनहुँ चटपटे बेचेर तीन छोरी हुर्काइरहेकी थिइन् । बुबा यज्ञराज पन्त सधैँ सँगै हुँदैनथे । तर, उनको सानिध्य जति हुन्थ्यो, त्यही पर्याप्त मान्थे । राज्यले दिने सेवासुविधाबाट पनि पूरै वञ्चित थिए, न कतै पहुँच नै । काम गर्‍यो, परिवार पाल्यो । कसैसँग रिसइवी थिएन, झैझगडा थिएन । बेलाबेला बालिका बलात्कार र हत्याका खबर सुन्थिन्, जीउ सिरिंग हुन्थ्यो, मुटु काँप्थ्यो ।

यो बज्रपात एक्कासि दुर्गादेवी आफैँलाई आइलाग्यो । घटनाको चार महिना बितिसक्दा समेत हत्यारा फेला परेको छैन । करुण स्वरमा भनिन्, “घरीघरी झस्किन्छु, सपनाजस्तो लाग्छ ।” भलै, सपना हुँदो हो ! तर यो त विपनीको भयंकर डरलाग्दो नियति बनेको छ ।

हरेक सन्तान आमाका लागि उत्तिकै प्रिय हुन्छन् । निर्मला विशेष थिइन् । कहिल्यै नझर्कने, घरको काममा सघाउने । पढाइमा अब्बल । मिलनसार । सानै कुरामा खुसी भइहाल्ने । कहिलेकाहीँ दुर्गादेवी रुँदा निर्मला सम्झाउँथिन् । सुखद भविष्यको सपना देखाउँथिन् । उनी भक्कानिइन्, “छोरी भएर पनि आमाले जस्तै व्यवहार गर्थी । आडभरोसा दिन्थी ।” उनी यस्तो समाजमा हुर्किन्, जसले छोरा नभएकी आमालाई अपूर्ण मान्छ र बुढेसकालमा सहारा नहुने डर देखाउँछ । छोरीसामु यो व्यथा मुख खोलेर भन्न सक्दिनथिन् दुर्गादेवी ।

पुत्रविहीन भएकाले आमाले हिजोआज भोगेका यावत टोकेसो ९ कक्षामा पढ्ने निर्मलालाई बोध भइसकेको थियो । त्यसैले आमालाई बरोबर भनिरहिन्थन्, ‘ममी, पढेर नर्स हुन्छु । विवाह गरे पनि तपाईंलाई पाल्छु, छोराले जस्तै ।’ त्यसको छाँटकाँट देखाइसकेकी थिइन्, भान्सामा मात्र होइन, चटपटे पसलमा पनि आमालाई सघाउँथिन् । निर्मलाका यी स्मृतिहरू पोखिरहँदा दुर्गादेवी भक्कानिदै जान्थिन्, “नभनुम्, छोरीको माया । भनुम्, मुटु फुट्लाजस्तो हुन्छ ।” दुर्गादेवीसँग भलाकुसारी हुँदैछ । साँझ ढल्कँदै छ । आफूलाई रोक्न सक्दिनन्, “यसबेला त निर्मलाले मलाई खाना खान बोलाइसक्थी ।” फेरि दोहोर्‍याइन्, “त्यति माया गर्ने छोरीको हत्यारालाई म कसरी छाडूँ ? सक्दै–सक्दिनँ ।”

एक दिन दुर्गादेवी पुगिन्, भगवान्को शरणमा, पीडा भुलाउन । तर, मन्दिरमा भगवान् होइन, छोरीको आकृति अगाडि आयो । बरर पोखिएका आँसु रोक्नै सकिनन् । एउटी कलिली छोरीको बलात्कार र हत्या हुँदा न्याय दिन नसक्ने आमा के आमा ! भन्छिन्, “जब यस्ता कुरा मनमा खेल्छन्, मन वहकिन्छ । वरपर मलाई हाम्रा लागि लडिरहेकाहरू देख्छु । अझ आँट आउँछ । होइन भने हामी उहिल्यै थाकिसक्थ्यौँ ।”

दुर्गादेवी अहिले जसरी छोरीको यादमा छटपटाइरहेकी छन्, सानोमै आमाबुबा बितेर त्यस्तै सास्ती बेहोर्नुपरेको थियो । आमा बितेपछि बुबाले भन्थे, ‘नरो, तँलाई पढाएर मेडम बनाउँछु ।’ तर, वर्ष दिन नबित्दै बुबाले पनि छाडेर गए । ७ कक्षाभन्दा माथि पढ्न पाइनन् । बिहे गरिन्, लगातार छोरी पाइन् । हन्डरैहन्डर ।

केही वर्षयता उनी हरेक दिन साइकल चढेर भारत बनवासा जान्थिन्, पानीपुरी र अन्य सामान ओसार्थिन् । दैनिक तीन–चार घन्टा साइकलको पाइडल दबाउनुपथ्र्यो । अरू दिनमा चटपटे बेचेरै बस्थिन् । छोरी हुर्कंदै गएपछि सुख देलान् भन्ने आशा पलाउँदै थियो । एक्कासि चट्याङ पर्‍यो । भन्छिन्, “रुँदारुँदा नसा चड्किन्छ । अब त रुनै सक्दिनँ । मन ढुंगो भइसक्यो ।”

 

Leave a Reply

Your email address will not be published.