देशलाइ हिन्दुराष्ट्र बनाउन आफु जे गर्न पनि तैयार रहेको डा शशांक कोइराको भनाई

समाचार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको विषय महासमितिको बैठकमा जोडतोडका साथ उठ्ने बताएका छन् ।

संघीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधानका प्रस्तावित प्रावधानमाथि एक सातादेखि जारी पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित महामन्त्री कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै हिन्दुधर्मबारे आफ्नो धारणा यथावत रहेको बताए ।

केहीसमय पहिला महामन्त्री कोइरालाले सार्वजनिक रुपमा हिन्दुधर्म र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

उनले  भने, ‘यो विषय केन्द्रीय समितिको बैठकभन्दा पनि बढी महासमिति बैठकमा जोडदार रूपमा उठ्छ । यहाँ के उठिरहेको छ र ? धेरै कुरा महासमिति बैठकमा उठ्छ ।’

उनले संविधान निर्माणको क्रममा धर्म निरपेक्षता कांग्रेसको चाहना विपरित राखिएको दाबी गरे ।  ‘हिन्दुराष्ट्र हुनुपर्छ भन्ने कांग्रेसको विचार होइन । तर धर्म स्वतन्त्र हुनुपर्छ भन्ने हो,’ उनले भने ।

जारी केन्द्रीय कार्यसमितिको बैठकमा यो विषयमाथि बुधबार पनि छलफल भएको थियो ।  बुधबारको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले हिन्दु धर्मको विषयबारे प्रष्ट पार्न माग गरेका थिए ।

महामन्त्री कोइरालाको सार्वजनिक भनाईप्रति इंगित गर्दै विश्वकर्माले भने, ‘पार्टीकै नेतृत्वमा समावेशी संविधान निर्माण भएको हो । आरक्षणको विरोधमा किन बोल्नुहुन्छ ? महामन्त्रीले राजतन्त्रको विषयमा समेत सोच्नुपर्छ भन्न थाल्नुभएको छ । यो के भनेको ? गणतन्त्र ल्याउन पार्टीले गरेको त्यत्रो बलिदान र योगदान कुल्चेर त्यसरी बोल्न पाउनुहुन्छ ?’

विश्कर्माको भनाईलाई चुनौती दिँदै अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले अब हिन्दुत्वको मुद्दालाई साथसाथै लिएर अघि बढ्नुपर्ने धारणा राखे ।

उनले भने, ‘ऋषिमूनिहरूको तपोभूमिका रूपमा परिचित नेपाललाई हिन्दु धर्मको नाममा अघि बढाउन सके आर्थिक वृद्धि पनि हुने थियो । हिन्दु धर्मको दृष्टिकोणले नेपाल धनी देश हो । यहाँको अवलोकन गर्न पनि करोडौँ मान्छे आउँछन् । यसले आर्थिक समृद्धिमा टेवा समेत पुर्याउँछ । हिन्दु धर्मको विषय राजनीतिक मुद्दाभन्दा माथि विश्वासको मुद्दा बनाएर जनतालाई छुने मुद्दा हो । यो विषय उठाउने बेला भएको छ ।’

यता कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बुधबार केन्द्रीय कार्य समितिमा पार्टी समग्र आर्थिक नीतिका सम्बन्धमा पेस गरेको प्रतिवेदनमा मुलुकमा रहेका पुराना मन्दिर र पुरातात्विक स्थल संरक्षण गरी पर्यटक आकर्षित गर्न सकिने उल्लेख गरेका छन् ।

प्रतिवेदन निर्माण समितिका संयोजकसमेत रहेका सहमहामन्त्री डा. महतले पशुपतिनाथ, जानकी मन्दिर र लुम्बिनीजस्ता धार्मिक स्थलको संरक्षण र सम्वद्र्धन गर्ने नीति लिइने जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *