चौधरीकाे सान थारू भाषाकाे सम्मान

राजनीति विशेष समाचार

काठमाण्डौं

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले सांसदको सपथ लिएका छन्।

सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले थारू भाषामा सपथ लिएका छन्।

सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए। चौधरीको सपथ कार्यक्रम राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरू पनि उपस्थित थिए। उनीहरूले पनि चौधरीलाई फूलमाला लगाए।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो। सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो। घटनापछि फरार रहेका चौधरीले  सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिएका थिए।

उनी निर्वाचित भए पनि सपथ लिन पाएका थिएनन्। गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए।

त्यसपछि प्रहरीले उनलाई जेल हालेको थियो। डिल्ली बजार जेलमा रहेका चौधरीलाई सपथ खुवाउन प्रहरीले सिंहदरबार ल्याएको थियो। सपथपछि उनलाई प्रहरीले फेरि कारागार लगेको थियो। सपथ लिए पनि सांसद चौधरी संसद बैठक जाने छैनन्।सपथ लिए पनि चौधरी संसद बैठकमा उपस्थित नहुने सचिव गोपालनाथ योगीले जानकारी दिए।‘उहाँमाथि तीन वर्षभन्दा बढी कैद सजाय हुने नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएको छ,’ योगीले भने, ‘पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा उहाँलाई सदस्यका हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार प्रयोग गर्ने उन्मुक्ति छैन।’

प्रतिनिधि सभा नियमावली अनुसार पारिश्रमिक र अन्य सेवासुविधा पनि पाउने छैनन्। राष्ट्रिय जनता पार्टी नेपालले  चौधरीलाई सपथ खुवाउनु पर्ने माग पटक पटक गर्दै आएको थियो। पुस १० गते भएको राजपा नेताहरूसँगको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गर्न ७ दिनको समय मागेका थिए।

पुस ११ गते सुरू भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै  राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले चौधरीलाई छिटो सपथ खुवाउनु पर्ने माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *