कोरोना भाइरस विरुद्ध जनचेतना जगाउँदै सांसद गिरी घरदैलो अभियानमा

Featured विशेष समाचार समाज

१ चैत, पर्वत । विश्व भर फैलिएको कोरोना भाईरसका कारण यतिबेला विश्व समुदाय नै आतंकित बनिरहेको छ । चिनबाट संक्रमण देखिएको कोभिड १९ नामको भाइरसले विश्वका धेरै देशहरुमा संक्रमणको दर बढाईरहेको छ । विश्वका शक्तिशाली मानिएका देशहरुमा समेत संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले नै स्वास्थ्य संकटकालको घोषणा गरीसकेको छ ।

नेपालमा संक्रमण फैलिएको पुष्टि नभए पनि उच्च जोखिमयुक्त देशको रुपमा विश्व स्वास्थ्य संगठनले घोषणा गरिसकेको छ । कोरोना भाइरस विरुद्ध लड्नका निम्ति नेपाल सरकारले पनि सवैलाई उच्च सर्तकता अपनाउन आब्हान गरेको छ ।

यसै क्रममा पर्वतबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद पदम गिरी भने कोरोना भाइरस विरुद्ध जनचेतना जगाउन घरदैलो अभियानमा सहभागी भएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जागरण अभियानमा पार्टीका केन्द्रिय सदस्य गुप्त हमाल सहित पर्वतको सदरमुकाम कुश्मा बजारमा घरदैलो अभियानमा सहभागी भएका हुन ।

शनिवार पार्टीको जागरण अभियानको शुभारम्भ कार्यक्रममा कोरोना भाइरसबाट जोगिने उपायहरु सहितको प्रचार सामाग्री लिएर सांसद घरदैलो अभियानमा निस्केका हुन । उनले सदरमुकाम कुश्मा बजारमा घरदैलो गर्दै प्रचार सामाग्रीहरु समेत वितरण गरे ।

स्थानीयबासीलाई हालसम्म कोरोना भाइरस नेपालमा नआएको भए पनि नेपाल उच्च जोखिममा रहेको हुँदा त्यसबाट बच्न अलबम्बन गर्नुपर्ने उपायहरुको बारेमा गिरीले स्थानीयलाई सचेत गराएका थिए ।

पार्टीको नेताहरु सहित घरदैलो अभियानमा सहभागी सांसदले भाइरस भयावहको रुपमा विश्वभर फैलिरहेको हुँदा त्यो नेपालमा पनि देखिन सक्ने भन्दै त्यसको निदानका लागि स्वयम् ब्यक्ति नै सर्तक रहनुपर्ने समेत बताए ।

पार्टीले ३ महिने जागरण अभियान सञ्चालनको शुरुवात गरेको छ । अभियान अन्तर्गत ठूला सभा, सम्मेलन र आमसभाहरु नगर्ने निर्णय गरेका कारण अभियानको शुरुवात जनचेतनामूलक कार्यक्रमको आयोजना गरेर गरिएको पार्टीका केन्दिय सदस्य गुप्त हमालले जानकारी दिए ।

सांसद सहितका सहभागीहरुले कुश्मा बजारका विभिन्न चोक र गल्लीहरुमा पुगेर स्थानीयको घर दैलोमा प्रचार सामाग्रीहरु वितरण गरेका थिए ।

यस अघि पर्वत जिल्ला अस्पतालको समेत सांसद गिरी सहितको टोलीले अनुगमन गरेको थियो । कोरोना संक्रमणीत विरामीहरुको उपचारको तयारीको विषयमा गरिएको अनुगमन पछि अस्पतालले ३ शैयाको आइसोलेसन वार्ड तयार गर्ने गरी काम गरीरहेको छ । Source: Parbat News

Leave a Reply

Your email address will not be published. Required fields are marked *