काम र तलबमा नर्सलाई विभेद

Featured समाचार स्वास्थ्य

चिप्लेढुङ्गा, १५ माघ : पोखरामा आज ५७ औंँ राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । ‘सुरक्षित कार्यक्षेत्रस्तरीय नर्सिङ सेवा’ भन्ने नाराका साथ पोखराको न्यूरोडमा रहेको पद्म नर्सिङ होमका नर्सले पनि ५७ औं राष्ट्रिय नर्सिङ दिवस मनाएका हुन् ।
नर्सिङ होमद्वारा आयोजित अन्तरक्रियामा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका केन्द्रीय सदस्य जितेन्द्र पौडेलले नर्सिङ पेशाप्रति सकारात्मक दृष्टिकोण बढ्दै गएको छ भन्दै अझै जिम्मेवार भएर अगाडि बढ्न नर्सलाई सुझाव दिनुभयो । नर्सिङ होम प्रालिका सहायक व्यवस्थापक नरेश पौडेलले नर्सको राम्रो व्यवहारले बिरामीको आत्मबल बढ्ने बताउनुभयो ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन पद्म नर्सिङ होमका अध्यक्ष कृष्ण आचार्यले नर्सले आफ्नो पढाइ पूरा गर्नेबित्तिकै विदेश नै जानुपर्छ भन्ने मानसिकता त्यागेर विकट र ग्रामीण बस्तीमा पुगेर स्वास्थ्य सेवा दिन उत्साहित हुनुपर्ने बताउनुभयो ।
नर्सिङ होम, सर्जिकल वार्डका इञ्चार्ज गङ्गा थापाले योग्यतानुसार रोजगारी नपाउनु, विशेषज्ञतानुसार पदपूर्ति हुन नसक्नु, स्वयंसेवा सेवा गर्नुपर्ने बाध्यता, काम र तलबमा पनि विभेद हुनुजस्ता कठिनाइ नर्सले भोगिरहेको भनी ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा ज्येष्ठ नर्स राधा गुरुङ, गङ्गा थापा, लक्ष्मी कुँवरलगायतलाई सम्मान गरिएको थियो ।

 

-(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *