कम्बोडियाका प्रधानमन्त्री सेन र म्यानमारकी नेतृ सुकी आज

विशेष समाचार

पोखरा, १३ मंसिर ।
कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी नेतृ आङ साङ सुकी आज काठमाडौं आउँदै छन् । युनिभर्सल पिस फेडरेसनको आयोजनामा काठमाडौंमा हुने एसिया प्यासिफिक समिटमा सहभागी हुन उनिहरु नेपाल आउन लागेका हुन् ।

प्रजातन्त्रवादी नेतृ सुकी विहान ११ बजे र कम्बोडियाका प्रधानमन्त्री हुन सेन विहान ११ बजेर ४० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा शरण लिएर बसिरहेका रोहिंग्या समुदायका कारण सुरक्षा खतरा हुन सक्ने विष्लेषण सहित सुकीलाई उच्च सुरक्षा व्यवस्था मिलाईएको छ । म्यानमारबाट अल्पसंख्यक रोहिंग्याहरु विस्थापित भएपछि आलोचित सुकीसँग हुने द्विपक्षीय छलफलमा समेत चासो रहेको छ ।
सुकीले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेटपछि लगत्तै होटल अन्नपूर्णमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आपसी हित, एयर कनेक्टिभिटी लगायत विषयमा छलफल हुनेछ ।

त्यसअघि प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भने आजै साँझ द्विपक्षीय भेटवार्ता हुनेछ । साँझ ५ बजे भेटमा विकास निर्माणका क्षेत्रमा सहयोग आदानप्रदान, आपसी हित र सम्बन्ध बिस्तारमा केन्द्रित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *