थारू समुदायको संस्कृति पछिल्लो समय लोप हुन थालेपछि थारू अगुवाले संस्कृतिलाई युवापुस्तामा

Featured समाचार

भरतपुर, १ माघ 

चितवन थारू समुदायको बसोबास भएको जिल्लाका रुपमा चिनिन्छ । यहाँको थारू समुदायको संस्कृति पछिल्लो समय लोप हुन थालेपछि थारू अगुवाले संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न थालेका छन् ।

थारू कल्याणकारिणी सभाका पूर्वसभापति टिकेन्द्र चौधरी थारू संस्कृति जोगाउन अभियान सञ्चालन गरिरहेको बताउनुहुन्छ । “चाँडपर्वलाई उत्सवको रुपमा मनाउन थालेका छौँ, यसले युवा पिँढीमा उत्साह थपिएको छ”, उहाँले भन्नुभयो । थारूले मनाउने जितिया पर्व, फागुपूर्णिमा, सोहराई, एकादशी, खिचरा (माघी), यमोसालगायत चाडपर्वमा थारू युवाको सक्रियता बढ्दै गएको छ । “थारू संस्कृति संरक्षणमा गम्भीर छौँ, युवालाई संस्कृति हस्तान्तरण गर्न रचनात्मक कार्य गर्दै आएका छौँ”, चौधरीले भन्नुभयो ।

माघीको अवसरमा पूर्वी चितवनको खैरहनीमा थारू समुदायले खिचरा महोत्सव आयोजना गरेका छन् । मौलिक संस्कृति हराउन लागेकाले बचाउन महोत्सव आयोजना गरिएको हो । थारूको मौलिक सामग्रीसमेत प्रदर्शन गरिएको थारू अगुवाको भनाइ छ । महोत्सवमा मागर गीत, राजधारी नाच, झुमरा, झमटा, डम्फु, लाठी, झररा नाच प्रस्तुत गरिँदै आएको छ । महोत्सवमा थारू समुदायको बस्ती निर्माणदेखि थारू खानाका परिकार, थारू संस्कृति प्रस्तुत गर्ने गरिएको रामसिंह चौधरी बताउनुहुन्छ ।

खिचरा (माघे सङ्क्रान्ति)बाट थारू समुदायको वर्ष फेरिन्छ । “संस्कृति लोप हुने चिन्ता छ, थारू अगुवा एकजुट भएर संस्कृति जर्गेनामा लागेका छौँ”, थारू अगुवा भजुमनराम महतोले भन्नुभयो । नयाँ वर्षको रुपमा मनाइने माघीमा बिहान स्नान गरी मान्यजन तथा आफन्त बोलाइ पोका (चिचर), माछा, घुँगीलगायत परिकार खुवाउने चलन छ । चिचर, घुँगी, माछा, हाँस उनीहरुको मुख्य खाना हो । माघी एक हप्तासम्म मनाउने चलन छ । चितवनमा पूर्वी क्षेत्र, पश्चिमको मेघौली र दक्षिणी भेग माडीमा थारू समुदायको बाक्लो बस्ती छ ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *