सामान्यतया स्वतन्त्र विद्यार्थी युनियन भन्नाले विद्यार्थीका हकहित र अवसरसँगै सम्बन्धित शैक्षिक मुद्दा र रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने विद्यार्थीहरुको उनीहरूकै आधिकारिक संस्थालाई बुझिन्छ। यो सङ्गठन राजनैतिक भन्दा पनि विधार्थीका आवश्यकतालाई केन्द्रमा राखेर सृजना गरिएको हो । तर विद्यार्थी नेतृत्वले समयको गतिशिलतालाई बुझ्न नसकेर उही पुरातन पद्धतिमै संगठन लैजान खोज्दा स्ववियुको भूमिका र आवश्यकतामा बारम्बार प्रश्न उठ्ने गरेको छ ।
विद्यार्थी सङ्गठनहरूको इतिहास दोस्रो विश्वयुद्ध भन्दापनि अघिदेखिको छ । दोस्रो विश्वयुद्धमा विद्यार्थी संगठनहरू सैनिकहरूलाई खाना, पानी र विश्वविद्यालयहरूमा सुरक्षा दिन स्वयंसेवकको रूपमा प्रयोग हुन्थे । तर युद्ध सकिएसँगै ती संगठनहरूलाई विद्यार्थीमैत्री क्रियाकलापहरूमा रूपान्तरण गर्न थालियो । आजपनि विश्वका अधिकांश विश्वविद्यालयहरूमा स्ववियुको अभ्यास रहेको पाइन्छ। नेपालको विभिन्न युगान्तकारी परिवर्तनहरूमा पनि विद्यार्थी संगठनहरूको भुमिका उल्लेखनीय देखिन्छ । इतिहासलाई केलाउदा नेपालमा विद्यार्थी सङगठनको सुरुवात बि.सं.१९९१ मा नेपाली छात्र संघको नामवाट भारतको वनारसमा भएको थियो। १९९७ सालमा तत्कालिन राणा शासकबाट आफूविरुद्ध लागेको अभियोगमा त्रिचन्द्र कलेजमा अध्ययनरत बिद्यार्थी गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो । यसअर्थमा गंगालाल श्रेष्ठ नेपालको पहिलो विद्यार्थी शहिद र समग्र विधार्थी आन्दोलनको प्रेरणाको स्रोत पनि हुनुहुन्छ ।
त्यसपछि चक्रिदै गएको विद्यार्थी आवेगले २००४ सालको आन्दोलनको स्वरूप लियो जसलाई “जयन्तु संस्कृतम” नामले पनि चिनिन्छ। राणा शासकहरू जनताले केही सिकून जानून भन्ने चाहादैँनथे । त्यसैले देशभर सन्चालित अधिकांश पाठशालाहरूमा केवल कर्मकाण्ड मात्र पढाइन्थ्यो र बिधार्थी पनि केही जाति र सम्प्रदायका मात्र हुन्थे। उक्त आन्दोलन गरेवापत नेपाल संस्कृत छात्रवास बाट ४३ जना विद्यार्थी निष्कासित हुनुपरेको थियो । यसबाट पनि प्रष्ट हुन्छ नेपालमा राम्रो मागको लागि पनि विद्यार्थी पीडित हुनुपरेको इतिहास धेरै पुरानो नै हो |
त्यसपछिका हरेक परिर्वतनसँगै विद्यार्थी संगठन र आन्दोलन जोडिएर आउछन् । २०१९ मा राजा महेन्द्रले दलहरूलाई प्रतिवन्ध लगाइसकेपछि आफ्नो विचार र दृष्टिकोण समाजमा लैजाने माध्यम नै विद्यार्थी संगठन थियो । २०३६ को जनमत सङ्ग्रह होस् या पहिलो र दोस्रो जन-आन्दोलन विद्यार्थी संगठनहरुको भूमिका प्रशंसायोग्य छ । तरबि.सं ६३/६४ को युगान्तकारी परिवर्तन पछि भने विद्यार्थी संगठनको क्रेज र औचित्य निरन्तर गिर्दो छ ।
हाम्रा विद्यार्थी संगठनहरूले आफूलाई समयसँगै ढाल्न सकेका छैनन । ४६ साल र ६३ सालमा आन्दोलन समयको माग थियो। शासकबाट आफ्ना अधिकार फिर्ता लिन नारा जुलुस गर्नैपर्ने थियो। अहिले समस्या समाधानको माध्यम त्यो बन्न सक्दैन र होइन पनि । अहिले हरेक विश्वविद्यालयमा १० भन्दा बढी संगठन छन् त्यसैभित्र पनि गुट उपगुट छन्। कहिले कसले बन्द गरेको छ कहिले कसको टाउको फुटाएको छ। दिनप्रतिदिन विद्यार्थी आन्दोलन बदनाम बन्दैछ । खासमा त विधार्थी संगठनहरू “आवाज बिहिनको आवाज” वन्नुपर्थ्यो, सुविधाबाट वञ्चित समुदायको साहारा बन्नु पर्थ्यो तर यहाँ विद्यार्थी नेतृत्व सबै मुद्दा बारे बोल्छन विद्यार्थीका मुद्दामा गुपचुप गर्छन भन्ने आरोप छ। राजनितिक संस्कार सिक्ने माध्याम बन्नुपर्ने ठाउँमा विद्यार्थी संगठन गुण्डागर्दीको केन्द्र बन्दैछन जुन नितान्त निराशाजनक छ।
अहिलेको देशको नेतृत्व गरिरहेका बहुसङख्यक नेता विद्यार्थी आन्दोलनबाट उदाएका हुन । विश्वविद्यालय व्यक्तित्व र नेतृत्व विकासको प्रयोगशाला पनि हो । राम्रोसँग कार्यसम्पादन गर्न सवने हो भने, स्वतन्त्र विद्यार्थी युनियन, केवल विद्यार्थीको मात्र होइन समग्र देशकै महत्वपूर्ण अंग बन्न सक्छ । स्ववियुको भूमिकामा यसरी प्रश्न उठ्नुको महत्वपूर्ण कारण राजनैतिक गतिशिलता नहुनु पनि हो । ५० वर्षअघि नेपाल विद्यार्थी संघको दोस्रो सभापति हुदै राजनितीमा हाम फालेका शेर बहादुर देउबा अझैपनि सक्रिय राजनितिमै छन्, लिलामणी पोख्रेल , युवराज ज्ञवालीहरू अझै शिर्षत स्थानमा पुग्ने समय कुर्दै छन् । शीर्ष नेतृत्व सदैव आफैमात्र पदमा बसीरहने लोभको सिधा असर समग्र क्षेत्रमा परेको देख्न सकिन्छ । त्यसैले कसैको राजनिती बचाइदिन, नेताको नातागोता आफन्तलाई भर्ति गर्न र बफादारहरूको झुण्ड बनाउन विद्यार्थी संगठन प्रयोग भएकाले अहिलेसम्म निर्वाचित भएतापनि स्वतन्त्र विद्यार्थी संगठनहरूले राम्रोसँग काम गर्न सकेका छैनन्। लगभग ८ वर्षको पर्खाइपछि २०७३ मा भएको स्ववियु चुनावमा यिनै लुछाचुढी र भागवण्डाले गर्दा त्रिभुवन विश्वविद्यालयका ६० मध्ये २१ क्याम्पसका विद्यार्थीले मात्र आफ्नो प्रतिनिधी चुन्न पाए। देशका बाँकी ११ मध्ये अधिकांश विश्वविद्यालयले स्ववियु निर्वाचन गराउनै चाहादैँनन। यसले एक त विद्यार्थीलाई हानि गर्छ,जायज माग उठाउने संगठन नै हुँदैनन् । अर्को भोलि देशको नेतृत्व गर्ने जनशक्ती उत्पादन हुँदैनन् ।
यसैबीच त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयका केहि कलेजहरूले स्ववियु निर्वाचनको मिति घोषणा गरिसकेका छन्। अबको केही समयपछि हुने निवार्चन विद्यार्थी नेतृत्वको लागि परीक्षाको घडी पनि हो। समग्रमा हामीले कस्ता व्यक्ती उठाउने, कस्ता व्यक्तिलाई जिताउने त्यसले नै आगामी विद्यार्थी आन्दोलनको कार्यदिशा निर्धारण गर्नेछ। अबपनि उमेदवार उठाउदा यति पटक ढुङ्गा हानेको, यति दिन जेल बसेको, यति नेताको चाप्लुसी गरेको यस्तो मानकका आधारमा बनाइयो भने स्ववियु चुनाव हुनु वा नहुनुमा कुनै फरक हुने छैन । विधार्थी नेतृत्वले हरेक आवाज विहिनहरुको आवाज बन्ने प्रत्याभूती दिनुपर्छ। विश्वविद्यालयमा हुने गरेका विकृति विसङ्गतीलाई कानुनी तवरले समाधान गर्न स्ववियुको भुमिका रहनुपर्छ । देशको राजनैतिक विषयमा आवाज उठाउनु राम्रो हो। तर विद्यार्थी नेतृत्व केवल त्यसैतर्फ मात्र केद्रित हुनु केद्रित हुनु राम्रो होइन।
देश बनाउन सबैभन्दा पहिला शिक्षाक्षेत्र सुधार आवश्यक छ । नपढेकाहरू कतार साउदी र पढेकाहरू अस्ट्रेलिया, अमेरिका लाग्ने जुन विकराल अवस्था देशमा आएको छ त्यसलाई बेलैमा मनन गर्नुपर्छ । हाम्रा विश्वविद्यालय केवल सैद्धान्तिक ज्ञानका पाठशाला बनेका छन्। तिनलाई चाँडोभन्दा चाँडो प्रयोगात्मक पद्धतिमा ढाल्नैपर्छ । देशको जिम्मेवार नागरिक र सबैभन्दा सक्रिय जनशक्ती विद्यार्थीहरूले विकृतीहरूको सफाइको सुरुवात आफ्नै कलेजहरूबाट गर्न सके, चुनिएका प्रतिनिधीले पनि कुनै नेताप्रति नभई विद्यार्थीप्रति उत्तरदायी भई काम गर्ने सके बल्ल विश्वविद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियनको सान्दर्भिकता सिद्ध हुने थियो।
अग्रता शर्मा