राष्ट्रको अस्तित्व माथि भ्रमको आक्रमण: “राष्ट्रको रक्षक कि भ्रमको शिकार” छुट्याउने अब तपाईँको पालो

Featured समाचार

श्रीकृष्ण धिमाल, दिनदिनै डट कम

आज एक स्वतन्त्र देशभक्त र बहादुर नेपाली नागरिकको तर्फबाट मलाई केही भनाई राख्ने उत्सुकता जाग्यो । आजकल केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा राष्ट्रको एक मात्र भरोसादार अराजनैतिक संस्था नेपाली सेनालाई लिएर अनेक भ्रम फैलाइँदैछ। कसैले सेनालाई सत्ता कब्जाको खेलाडी भन्छन्। कसैले राष्ट्रको स्थिरता जोगाउने संस्थालाई नै लोकतन्त्रको खतरा भनेर चित्रण गर्न खोजिरहेका छन्।

तर प्रश्न उठ्छ— के नेपाली सेनाले साँच्चै राष्ट्रविरुद्ध कुनै काम गरेको छ? वा केही पात्रहरूले आफ्नै अनुमान, अफवाह र राजनीतिक उद्धेश्यले मात्र भ्रमको खेती गरिरहेका छन?

सत्य के हो भने— नेपालको संविधान अन्तर्गत जन निर्वाचित सरकारको निर्देशनमा परिचालिन हुने नेपाली सेना नेपालको सार्वभौम शक्ति र मेरुदण्डको रुपमा रहने संस्था हो। कुनै पनि प्रजातान्त्रिक देशमा सेनाले आफ्नो निर्णय आफैँ गर्दैन। सदैव संवैधानिक दायरा भित्र रही राष्ट्रिय एकता, राष्ट्रिय हित र जनताको सुरक्षाको लागि सरकारबाट निर्दिष्ट गरेका जिम्मेवारीहरु पुरा गर्न निस्वार्थ अहोरात्र खट्टिने संस्था हो। नेपाली इतिहासको कालखण्ड देखिनै राष्ट्रको सुरक्षाका लागि जीवन समर्पण गरेको संस्थालाई नै विवादको केन्द्रमा उभ्याई सेनालाई कमजोर पार्ने कार्य नहोस भनि एक स्वतन्त्र नागरिकको हैसियतबाट हुँकार दिन चाहन्छु ।

होसियार …..यो भ्रम तत्काल बन्द गर्नु पर्छ ।।

इतिहास अनुमानले होइन— बलिदानले लेखिएको हुन्छ। एक समय नेपाल विभाजित थियो। स–साना राज्यहरू, अलग शक्ति, अलग शासन। त्यही बेला पृथ्वीनारायण शाहले एकीकृत नेपालको अभियान सुरु गर्नुभयो। त्यो अभियान शब्दले होइन— नेपाली वीर सैनिकहरूको साहस र रगतले सफल भयो। यदि त्यो एकीकरण नभएको भए— आजको नेपाल सम्भव नै हुने थिएन। अंग्रेज साम्राज्यले नेपाललाई झुकाउन खोज्यो। विदेशी शक्तिहरूले बारम्बार हस्तक्षेप गर्न खोजे।तर नेपाली सेना र नेपाली जनताको अदम्य साहसका कारण नेपाल कहिल्यै कसैको उपनिवेश बनेन।यो इतिहास कुनै सत्ता संघर्षको होइन— यो इतिहास राष्ट्रको अस्तित्व जोगाउने इतिहास हो।

हामी सबै नेपालीलाई थाहा छ ईतिहासमा, मात्रै होइन देशमा आइपर्ने विभिन्न परिस्थितिहरु जस्तै आमुल राजनैतिक परिवर्तनमा जनताको चाहना अनुसार प्रजातान्त्रिक पद्धतीलाई अंगिकार गर्दै सदैब देश र जनताको हितमा अग्रपङ्कतिमा रहेर निरन्तर उभिरहेको छ। जब भूकम्पले देश हल्लियो…जब बाढी र पहिरोले हजारौँ जीवन संकटमा पार्‍यो…त्यो बेला जनताको साथमा रही कठोर भूगोलमा आफ्नो ज्यान जोखिममा राखेर नागरिक उद्धार गरेको पनि हामीले देखेका छौं ।

आज नेपाली सेनालाई आरोप लगाउनेहरुलाई पक्कै पनि नेपाली सेनाको योगदानको बारेमा थाहा हुनुपर्छ तर केही थाहा नभएको अभिनय गरिरहेका लम्पटहरु इतिहास विर्सेर आफ्नो स्वार्थको लागि खाटमा सुतेर खुट्टा हल्लाउनमै व्यस्त छन तर दुखमा परेका जनताहरुलाई राम्रोसंग थाहा छ, दुखको सारथी र आड भरोसा बनी जनजनमा छाउने नेपाली सेना। दुर्गम क्षेत्रमा सडक निर्माण गर्नेहरू… विपदमा जनताको जीवन बचाउनेहरू…को हुन् त ?

गहिरिएर सोचौं तपाईँ हामी जस्ता सोझा नागरीकलाई भ्रम छर्दै छन् देशको सुरक्षा, स्थिरता र समृद्धी नचाहने देशका अहितकारी तत्वहरु । देशको प्रगती नचाहने र देशी/विदेशी खोल ओडेका दुखी आत्मरुपी देशका घातक फ्याउरोहरु होसियार… सोझा नागरीकलाई भ्रम छर्ने कार्य तत्काल बन्द गर ।

तर सत्य के हो? राष्ट्रिय सेना कुनै पनि स्वतन्त्र देशको राजनैतिक शक्ति होइन उ त राष्ट्रको सार्वभौम शक्ति र जनताको आड भरोसाको केन्द्र हो । नेपालको संविधान अन्तर्गत नेपाल सरकारको निर्देशनमा परिचालित हुने अन्तिम शस्त्र हो। यसको पहिलो जिम्मेवारी राष्ट्रको सुरक्षा, स्थिरता र नेपाली नागरिकको संरक्षण हो।

जेनजी आन्दोलन र राजनीतिक अस्थिरताको समयमा देश गम्भीर संकटतर्फ धकेलिँदै थियो। राज्य संयन्त्र कमजोर बन्दै गएको थियो। सरकारी संरचनाहरू प्रभावहीन देखिन थालेका थिए।देश लगभग शून्य राजनीतिक अवस्थातर्फ पुग्ने खतरा बढिरहेको थियो। तर त्यस अवस्थामा पनि नेपाली सेनाले आफ्नो संवैधानिक सीमा नाघेर कुनै स्वतन्त्र कदम चालेन। किनकि नेपालको संवैधानिक व्यवस्था स्पष्ट छ— नेपाली सेना राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्री परिषद्को निर्णय पश्चात राष्ट्रपतिको अनुमोदन बमोजिम मात्र परिचालन हुन सक्दछ ।

मेरो विचारमा देश संकटमा हुँदा पनि अन्तिम क्षणसम्म नेपाली सेना सरकारको आदेशको प्रतीक्षामा संवैधानिक मर्यादाभित्रै बसेको थियो। यदि त्यो समयमा राष्ट्रिय सुरक्षा संयन्त्र पूर्ण रूपमा निष्क्रिय भएको भए— देश हिंसा, अराजकता र गम्भीर अस्थिरतामा धकेलिन सक्थ्यो र सुरक्षाको नाममा विदेशी सेनाहरुको प्रवेश निम्त्याउन पनि सक्थ्यो । त्यतिबेला पनि देशको अहितकारी तत्वहरुले भन्ने शब्द एउटै हुन्थयो नेपाली सेनाले विदेशी सेनालाई भित्र्यायो।हुन त भ्रमको खेति गरेर व्यक्तिगत स्वार्थ प्राप्त गर्न खोज्ने भिजिलान्तहरुले जसरी पनि विरोध गर्ने नै गर्दछन् भ्रमको खेति गरेर आफ्नो पहिचान गुमेको थाहा नपाउने, सामाजिक संजालमा views र likes मार्फत आम्दानीको श्रोत बढाई स्वास्नी पाल्न पल्केका दलालहरुलाई के थाहा ।

जनताको आँखाबाट हेर्दा नेपाली सेनाले सदैव संविधान प्रदत्त आफ्नो जिम्मेवारीहरुलाई पूरा गर्न दिलोज्यान दिँदै आईरहेको सबैलाइ सर्वविधितै छ । विभिन्न समाचार तथा सामाजिक संजालहरुमा भर्खरै समाप्त भएको प्रतिनिधिसभा निर्वाचन २०८२ लाई जोडेर नेपाली सेनालाई विभिन्न आक्षेप लगाउने भ्रामक समाचार देख्दा त्यस्ता व्यक्तिप्रति दया लागेर आउँछ। मलाई लाग्छ नेपाल सरकारले विगत २०४८ साल पश्चातका प्राय सबै निर्वाचनहरुमा मत पत्र छपाई तथा ढुवानी, मतदानका क्रममा तेश्रो घेरामा रहेर सुरक्षा प्रदान, मतदान पश्चात स्थापित प्रोटोकल अनुसार मत पेटिकालाई मतगणनास्थल सम्म ढुवानी तथा निर्वाचनको दौरान विभिन्न देशद्रोहि तत्वबाट हुन सक्ने अवान्क्षित गितविधिहरुलाई नियन्त्रण गर्ने कार्य गरी निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मद्दत गर्को हो ।

तर नेपाल सरकारबाट तोकेबमोजिम निर्दिष्ट कार्य गर्दा समेत असन्तुष्ट तत्वहरुलाई चित्त नबुझ्दो रहेछ। आखिर बुझाउनु पनि कसरी त्यस्ता व्यक्तिलाई जे गरेपनि बुझाउन चाहिँ सकिँदैन। बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राखे पनि जस्ताको त्यस्तै भनेजस्तै हो।

राष्ट्रलाई विघटनबाट जोगाउने संवैधानिक जिम्मेवारीलाई सस्तो लोकप्रियता मार्फत सामाजिक संजालमा “सत्ता कब्जा” को कथामा बदल्ने प्रयास तथ्यभन्दा बढी भ्रामक र राजनीतिक भाष्य निर्माण गर्ने प्रयास हुन सक्छ।आज केही कुपात्रहरूले व्यक्तिगत तथा संस्थागत स्वार्थ पूर्तीको लागि अराजनैतिक छवि बोकेको नेपाली सेनालाई राजनीतिक रूपमा चित्रण गर्न खोजिरहेका छन्।

लोकतन्त्रमा आलोचना गर्न पाइन्छ।तर आलोचना तथ्यमा आधारित हुनुपर्छ— अफवाह, अनुमान र सुनियोजित भ्रममा होइन। राष्ट्रको सुरक्षाका लागि समर्पित संस्थालाई निरन्तर अविश्वासको घेरामा राख्नु राष्ट्रिय मनोबल कमजोर पार्ने प्रयास हुन सक्छ। किनकि नेपाली सेना केवल एउटा संस्था होइन— यो नेपालको सार्वभौमिकता, एकता र राष्ट्रिय अस्तित्वको प्रतीक हो।

अन्तयमा, हामी सबै नेपालीहरुमा त्यो यथार्थ स्थापति भैसकेको छ र इतिहासले पनि एउटा सत्य स्पष्ट गरिसकेको छ— जब राष्ट्र संकटमा पर्छ… जब जनताको सुरक्षा जोखिममा पर्छ… जब देशलाई स्थिरताको आवश्यकता पर्छ… त्यस बेला सबैभन्दा अगाडि उभिने देशको गौरवशाली सस्था हो— नेपाली सेना। त्यसैले हामी सबै नेपालीको साझा शक्ति देशको शान र मान, जनताको दुखको सारथी नेपाली सेनाको बारेमा भ्रामक सूचना फैलाउने जो कोही व्यक्ति तथा संस्था नेपालको अहितकारी धमिराहरु हुन त्यस्तालाई राम्रोसँग चिनौ र सोझासाझा जनतामाझ भ्रम फैलाई टाउको उठाउने देशी/विदेशी कुतत्वहरुलाई पराष्त गर्न हामी स्वाभिमानी नेपाली एकजुट हौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *