“स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना र सीप सिकेर मात्र जाऔं”
वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम सञ्चालनमा रहेको छ। सूचना तथा परामर्श, कानूनी सहयोग, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र सीप विकास तालिम यस कार्यक्रमको मूख्य सेवाका रूपमा रहेको छ। साथै, कार्यक्रम अन्तर्गतका सेवाहरूलाई संस्थागत गर्नका लागि नीतिगत विकास र संरचनागत सुदृढिकरणमा पनि सहयोग तथा सहजीकरण गर्दै आएकोछ। समग्र कार्यक्रमको गुणस्तरीयता तथा प्रभावकारीता अभिवृद्धिको निम्ति स्वीस सरकार विकास सहयोग एसडीसीको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ।
जिल्लास्थित जिल्ला प्रशासन कार्यालयको परिसरमा आप्रवासी स्रोत केन्द्र (MRC) र राहदानी वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत उपकेन्द्र (Sub-MRC) सञ्चालनमा रहेका छन्। आप्रवासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श, कानूनी परामर्श तथा सहयोग, गन्तव्य मुलुकबाट स्वदेश फिर्ती तथा उद्दार, आर्थिक सहयताका लागि सहजीकरण, सीप विकास तालिमका लागि समन्वय जस्ता सेवाहरू प्राप्त गर्न सकिन्छ। आप्रवासी स्रोत केन्द्रले सरोकारवाला निकायहरूसँग समन्वय र सहजीकरण गरी सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सेवाहरू प्रदान गर्ने गर्दछ। आप्रवासी स्रोत केन्द्रले सरोकारवाला निकायहरूसँग समन्वय र सहजीकरण गरी सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सेवाहरू प्रदान गर्ने गर्दछ।
त्यसै अन्तर्गत ७७ जिल्लाकै ७५३ पालिकामा संचालनमा लाने योजनामा रहेको यस सामी कार्यक्रम तनहुँ जिल्लाको घिरिङ गाउँपालिकामा २०८१ फाल्गुन देखि सुरु भएको थियो। मिति २०८२-०२-१६ गते शुक्रबारका दिन सुरक्षित आप्रवासन कार्यक्रम घिरिङद्वारा घिरिङ गा.पा, वडा न १, पुट्टारमा वडा न १का वडाध्यक्ष श्री रविचन्द्र घोरासिनी ज्युको अध्यक्षतामा, गा.पा.का उपाध्यक्ष श्री राधादेवि अधिकारी ज्युको प्रमुख आतिथ्यतामा, वडा सदस्य ज्युहरु, नेकपा एमाले केन्द्रिय पार्सद विष्णुभक्त सिग्देल ज्यु, पुर्व जनप्रतिनिधि होमनाथ सिग्देल ज्यु, दिपक मा.वि, कृष्ण मा.वि लगायत सरस्वती आ.वि.का प्रधानाध्यापक ज्युहरु, टोल प्रतिनिधि ज्युहरु, स्थानीय युवा तथा महिला प्रतिनिधि ज्युहरु, समाजसेवि तथा समाजका अग्रज व्यक्तित्व ज्युहरु र विशेषत: वैदेशिक रोजगारीमा हुनुहुने व्यक्तिका परिवारजनहरुको उपस्थितमा वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरको गहन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजिविवर्ग, स्थानीय जनसमुदायका व्यक्तित्व गरी ३० जना भन्दा बढीको सहभागिता रहेको थियो भने कार्यक्रमलाई सहजीकरण सुरक्षित आप्रवासन कार्यक्रम-घिरिङका मनोसामाजिक परामर्शकर्ता सुविन श्रेष्ठले गर्नुभएको थियो।
वैदेशिक रोजगारीमा जादा ध्यान दिनुपर्ने कुराहरु: “इ.सि.प्र.का.स”
1. इजाजत प्राप्त म्यानपावर कम्पनीबाट जाने (dofe.gov.np बाट हेर्न सकिने)
2. सीप सिकेर जाने
3. प्रमाणहरु सुरक्षित राख्ने (राहदानी, भीषा, करार पत्र, श्रम स्वीकृतिपत्र, उद्देश्य खुलाइ रकम बुझाएको बैंक भौचर, स्वास्थ्य परिक्षण रिपोर्ट, इन्स्योरेन्स र अभिमुखिकरण प्रमाण पत्र)
4. कागजात परिवारलाई पनि एकप्रती फोटोकपि छोडने
5. सरोकारवालाहरुको सम्पर्क नम्बर लिएर जाने (सम्बन्धित देशको राजदुतावास, काउन्सुलर सेवा विभाग, वैदेशिक रोजगार बोर्ड, श्रमाधान कल सेन्टर ११४५ तथा whatsapp, imo, viber – 9851347222, टेलिमेडिसिन सेवाका लागि – 9851345701 वा 9851345702)
कार्यक्रम एकदमै अन्तरक्रियात्मक रहेको र अतिथि गण लगायत सहभागी वर्गबाट एकदमै फलदायी रहेको प्रतिक्रिया दिनुभएको थियो। सामी कार्यक्रमले प्रदान गर्ने ५ सेवाहरु मध्ये “सुचना र परामर्श” अन्तर्गत यस्ता समुदायस्तरको सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी गहन अभिमुखिकरण कार्यक्रम पनि एक हो। समुदायमा वैदेशिक रोजगारीमा हुनुहुने नागरिकको रोजगारी सुरक्षित, मर्यदित र व्यवस्थित बनाउन सरकारको यो पहलकदमी तथा स्थानीय समुदायमा जनचेतना बदाउदै लानुपर्ने देखिन्छ।