समुदायमा मनोसामाजिक परामर्शको बढ्दो आवश्यकता | सुरक्षित आप्रवासन (सामी) कार्यक्रम

Featured आज को बिचार प्रदेश प्रवास विशेष शिक्षा समाज स्वास्थ्य

मन आन्तरिक ईन्द्रिय हो, जो ज्ञानेन्द्रियबाट प्राप्त सूचनाको आधारमा प्रभावित हुन्छ। भावना, चाहना, स्वभाव, विश्वास, संवेगात्मक अवस्थाको संयुक्तरूप मन नै हो। मन कच्चापदार्थ जस्तो हुन्छ, जसलाई प्रशोधनको आवश्यकता हुन्छ। यसर्थ मन कहिले खुसी हुन्छ त कहिले दुःखी। त्यसैले त मनोवैज्ञानिक फ्रायडले मानव मनलाई चेतन, पूर्वचेतन र अचेतन गरी तीन भागमा बाँडिदिएका छन्।
मन र मष्तिस्कका स्रोतहरू ज्ञानेन्द्रिय नै भएकाले फ्रायडले अचेतन, पूर्वचेतन र चेतन मष्तिस्क पनि भनेका छन्। मनोविज्ञानका भाषामा मन, मष्तिस्क र चेतना यी क्रमशः परिमार्जन हुँदै प्रयोग भएका शब्दावली हुन र हामीले त्यहाँबाट उत्पादित व्यवहार मात्रै अध्ययन गर्न सकिन्छ।

एउटा बोटको जीवन चक्रलाई हेर्ने हो भने बीउबाट बेर्ना बन्दछ, बेर्नाबाट रूख बन्दछ । यही क्रममा उचाई तौल आदिमा मात्रात्मक परिवर्तन हुन्छ र फूल फुल्ने, बास्ना दिने, फल दिने वा छहारी दिने, आकर्षित गर्ने गुणहरू देखापर्न थाल्दछन् । मानव जीवनमा पनि यस्तै प्रक्रिया पूरा भएको हुन्छ । मानव जीवनको मात्रात्मक एवम् गुणात्मक विशेषताहरूको अध्ययन विश्लेषण गरी भविष्यवाणी निर्माण गर्ने तथा दिशानिर्देशन गर्ने काम मनोविज्ञानले गर्दछ ।
घर, परिवार, छिमेकको वातावरणबीचको यान्त्रिक सम्बन्ध मात्रै होइन सामाजिक र सांस्कृतिक उद्दिपक बीचको भावनात्मक सम्बन्धबाट पनि व्यवहारमा परिवर्तन गर्न सकिन्छ, यही परिवर्तन नै सिकाइ हो। यही कुराको सन्तुलन मिलाउने काम मनोसामाजिक परामर्शले गर्दछ।

मनोसामाजिक परामर्शको अर्थ :
व्यक्तिको मन, मष्तिस्क र भौतिक, सामाजिक वातावरणबीचको सम्बन्ध राम्रो भएन भने बालक वा व्यक्तिको सामाजिकीकरणमा नकारात्मक प्रभाव पर्छ र सामाजिक समस्या देखिन थाल्छ। मनोसामाजिक समस्याको कारणको खोजी गर्नु र समस्यामा काम गर्नु मनोसामाजिक परामर्श हो। रोगको पहिचान नभएसम्म उपचार सम्भव नभए जस्तैः मनोसामाजिक समस्याको पहिचान बिना परामर्शको चरणमा प्रवेश गर्न सकिदैन्।
समस्या परेको व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्दै सकारात्मक धारणा निर्माणमा मद्दत गर्ने, समस्या जटिल हुन नदिन सजग बनाउने, निराशा हुनबाट बचाउने, निर्णय गर्न सहज पारिदिने, ऊ भित्रका क्षमताहरूलाई प्रशंसा गर्दै परिचालन गर्ने, आत्मविश्वास बढाउँदै परिस्थितिसँग समायोजित हुन र सामना गर्न सक्ने गरी सशक्त बनाउनु नै परामर्श सेवा हो। परामर्श सेवा अत्यन्तै मनोवैज्ञानिक काम हो र तत्सम्बन्धी सीप भएको विज्ञ तथा परामर्शकर्ताबाट मात्र सम्भव हुन्छ। परामर्श लिन चाहनेलाई मात्र प्रदान गरिने सेवा हो। व्यक्तिको ईच्छाविपरीत परामर्श सफल हुन सक्दैन् ।

मनोसामाजिक परामर्शको लागि मनोसामाजिक विश्लेषण :
मानिस स्वाभावतः असल हुन्छ की खराब हुन्छ ? असल वा खराब किन हुन्छ ? यी प्रश्नहरू बारे मनोविज्ञानका चारवटा विचारहरू रहेका छन्।
१. वाट्सन स्किनर जस्ता मनोवैज्ञानिकहरूको विचारमा मानिस यन्त्रवत् प्राणी हो। ऊ स्वभावतः न असल न खराव नै हुन्छ। उसलाई असल वा खराब बनाउने काम समाज, उसको परिवेश तथा वातावरणले गर्छ।

२. सिग्मन प्रायड जस्ता मनोविश्लेषकहरूका अनुसार मानव व्यवहार दुई किसिमका परस्पर विरोधी शक्तिबाट सञ्चालन भएको हुन्छ। मानिस बाँच्न र तिब्र ईच्छा चाहना पूरा गर्न जस्तोसुकै काम गर्न पनि तयार हुन्छ। ऊ मर्न मार्नसम्म पनि तयार हुन्छ। यसकारण मानिसमा मानव र दानव दुबै गुणहरू हुन्छन् । उसमा कहिले मानवीय गुण र कहिले दानवीय गुण देखापर्न सक्छ। एउटा मानिस सधैं राम्रो र सधैं नराम्रो हुन सक्दिन।

३. अब्राहम मास्लो जस्ता मानवतावादी मनोविज्ञको विचारमा मानिस स्वतन्त्र, सिर्जनशील र शक्तिमान प्राणी हो। आधारभूत आवश्यकता पूरा गर्दै जाँदा ऊ एक जिम्मेवार व्यक्ति बन्दछ। आफ्नो शक्तिको अनुभूति गर्दै पूर्ण अनुभूतितिर विकसित भइरहेको हुन्छ।

४. जर्जकेली जीन पियाजे जस्ता प्रसिद्ध मनोवैज्ञानिकहरूले हालैका केही दशकमा संज्ञानवादी नयाँ विचारधारा प्रतिपादन गरेका थिए जसअनुसार कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व हुदैन। मानिस पनि समयसापेक्ष नै हुन्छ। परिवेशको परिवर्तनले मानव दानवमा र दानव मानवमा परिणत हुन सक्छ।

नेपाली समाजमा देख्न सकिने मनोसामाजिक समस्याहरू र स्रोतहरू :

  • विगत दुई दशकदेखि नेपाली समाजमा व्याप्त महँगी, बेरोजगारी र सुखशयलले गर्दा गरिबी र धनी बीचको खाडल वा वार्गान्तर तिब्ररूपमा बढ्दै गएको छ। एकातिर विज्ञान प्रविधिको विकास सँगसँगै उपभोग्य वस्तुको विकासमा तिब्रता छ भने अर्कोतर्फ पहुँच तथा उपभोग क्षमतामा पनि खाडल छ। जोसँग सीप छ श्रम गर्छ ऊसँग धन छैन, जोसँग धन छ उसले श्रम गर्दैन । असल मानिस बन्नेभन्दा शक्तिशाली मानिस बन्ने होड छ सबैमा। यस्तो अवस्थामा समाजका युवा, बालक, वयस्क सबैमा मनोसामाजिक समस्याको बीउ रोपिन्छ।
  • आशा, विश्वास र सपना हराएको मानिस या त विद्रोही हुन्छ या निराशा, कुण्ठा र तनावमा बाँचिरहेको हुन्छ। नेपालको सामाजिक, आर्थिक तथा प्राकृतिक विपद्जस्ता अवस्थाले मानिसमा निराशा, विद्रोह र तनाव उत्पादन गरिरहेको देखिन्छ। यस्तो समाजमा मनोसामाजिक समस्या पैदा हुनेगर्छ।
  • बढ्दो पुस्तान्तरण अहिलेको समाजमा ठूलो मुद्दा बनेर आएको देखिन्छ। पुराना पुस्ताले अहिलेको पुस्तामाथि धेरै विश्वास गरेको देखिदैन्, भने नयाँ पुस्ताले पुराना पुस्तालाई सम्मान गरेको उसका आदर्शलाई पछ्याएको अवस्था छैन्। यसले पनि सामाजिक सन्तुलनमा समस्या पैदा भएको छ।
  • बेरोजगारीका कारणले विदेशिने क्रम बढ्दो छ। यो परिदृश्यबाट रेमिटान्स थुप्रै भित्रिएको छ तर त्यसको प्रयोग विकासको लागि भएको छ या विकारको लागि? प्रश्न उब्जेका छन्। रेमिटान्ससँगै थुप्रै विकृति पनि भित्रिएका छन्; कहिल्यै तिर्न नसक्ने गरी सामाजिक लागत पनि बढाएको छ। कयौँ परिवारको विछोड भएको छ जसले गर्दा मनोसामाजिक समस्याको स्रोत बनेको छ।
  • विभिन्न बाढी, पहिरो, भूकम्प, दुर्घटनाजस्ता प्राकृतिक प्रकोपको त्रासले मनोसामाजिक समस्या पैदा भएको छ ।
    माथि जे चर्चा गरियो ती मनोसामाजिक समस्या पैदा हुने केही उदाहरण मात्रै हुन् । देश, समय, परिस्थितिअनुसार यस्ता कारण र स्रोतहरू नयाँ–नयाँ ढंगले प्रकट भइरहन्छन्।

मनोसामाजिक परामर्श विधि र उपयोगिता :
मनोसामाजिक समस्याको पृष्ठभूमि र कारण थाहा पाउनु, त्यसको विश्लेषण गर्न सक्नु भनेकै त्यसको समाधानको नजिक पुग्नु हो। मनोसामाजिक परामर्शमा केही प्राविधिक पक्षहरू पनि छन्। जुन निम्नानुसार रहेका छन्ः–

१. परामर्श सेवा प्रदान गर्नेले बुझेको कुरा के हो भने परामर्शमा निर्देशन वा आदेश दिने होइन । होच्याउने, हेप्ने, सजाय दिनेजस्ता व्यवहार नगरी सम्मानपूर्वक सकारात्मक परिवर्तन ल्याउन प्रयोग गरिने उपचारात्मक पद्धति हो।

२. परामर्श लिने र दिने बीचमा भरपर्दो र विश्वास जगाउने खालको वातावरण निर्माण हुनुपर्छ । परामर्श लिने मानिसलाई मैले खोजेको मानिस पाए भन्ने भावना पैदा हुनुपर्छ।

३. खुलेर कुरा गर्ने वातावरण बनाउने, सजिलो तरिकाबाट प्रश्नोत्तर गर्ने, समानुभुती सहित भावना फर्काउने, राम्रोसँग कुरा सुन्ने लगायतका सीप आवश्यक हुन्छ।

४. परामर्श सेवा व्यक्तिगत तथा सामूहिक रूपमा पनि प्रदान गर्न सकिन्छ तर परामर्श लिने र दिने बीचमा एउटै बुझाइ बन्न आवश्यक छ। साझा बुझाइ नभएसम्म थप छलफल चलाउन आवश्यक हुन्छ।

५. परामर्शबाट सेवाग्राहीले आफूमा के क्षमता छ? के छैन? के गर्न सकिदैन्? जस्ता कुराको जानकारी लिन सक्छन्। समस्या समाधान गर्न तथा आत्मविश्वास बढाउन सफल हुन सक्छन्।

६. झैझगडा तथा उदण्ड व्यवहार देखाउने, धेरै डराउने, धेरै चिन्ता वा तनावमा देखिने, विद्यार्थीहरूमा असफलता हुने, पढाइमा अचानक ह्रास आउने, स्कुल जान मन नगर्ने खालका विद्यार्थीमा परामर्शको आवश्यकता पर्न सक्छ तर उसलाई परामर्शको आवश्यकता बोध नगराई परामर्शले काम गर्न सक्दन्।

७. परामर्श दिने मानिस समाजमा विस्वास प्राप्त, नैतिक गुणहरू राम्रो भएको व्यक्तित्व भएको हुनुपर्दछ। सबै खालको परामर्शमा गोपनीयताको सुनिश्चितता हुनुपर्दछ।

८. सामूहिक परामर्श सेवा सञ्चालन गर्दा व्यक्तिगत भिन्नतालाई ध्यान दिने।

९. विपद्जन्य घटनामा प्राथमिक मनोवैज्ञानिक उपचार सेवा प्रदान गर्न सकिन्छ, जसले गर्दा सेवाग्राहीमा मनोबल बढाइ घटनापछि तत्काल देखिने समस्या कम गर्न मद्दत पुग्दछ।

१०. परामर्शको अन्त्यमा द्विपक्षीय मूल्यांकन गर्ने र गोप्यताका साथ अभिलेख राख्ने, परामर्श लिनेलाई पनि गोपनीयताको महत्व बुझाउने।

मन र सामाजिक वातावरण बीच सन्तुलन कायम नहुने थुप्रै कारणहरू छन्, जसका कारणले मनोसामाजिक समस्या पैदा गर्दछ। त्यस्तै आर्थिक- राजनैतिक अवस्था, आशा-अपेक्षा र उपलब्धि बीचमा खाडल, श्रमप्रतिको कम सम्मान, बेरोजगारी, असुरक्षाजस्ता कारणले नेपाली समाज आक्रान्त रहेको र समाज र शिक्षालयमा मनोसामाजिक समस्या बढ्दै गएको पाइन्छ। अन्त्यमा मनोसामाजिक परामर्श समुदायस्तरमा अति आवश्यक रहेको तर त्यस्तो जनशक्ति अझै अभाव रहेको छ। त्यस्तो जनशक्ति तयार गरी परिचालन गर्न, तिनै तहको सरकारले यस विषयमा जिम्मेवार भइ अपनत्व लिनुपर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *