मुख्यमन्त्रीद्वारा अन्नपूर्ण आधार शिविरको अवलोकन

गण्डकी प्रदेश तस्बिर पर्यटन समाचार

पोखरा, १४ मङ्सिर

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गर्नुभएको छ ।

हिमाल आरोहणको इतिहासमा सबै भन्दा जेठो हिमालका रुपमा चिनिएको अन्नपूर्ण प्रथमको फेदीमा अवस्थित आधार शिविर र त्यहाँका वातावरणीय पक्ष, पर्यटकको आगमन लगायतका विषयमा बुझ्न मुख्य मन्त्री गुरुङ सो स्थानमा पुग्नुभएको हो ।

अवलोकन पश्चात उहाँले पर्याप्त पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको प्रवद्र्धन एवं विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो । वातावरणीय संरक्षणका साथै यहाँका आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध भएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री गुरुङलाई अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले त्यहाँको वातावरणीय संरक्षण, गाउँपालिकाले गरिरहेका प्रयासका बारेमा जानकारी गराउनुभयो ।

कुँवरले हिम चट्टानको संरक्षण, पदमार्गको संरक्षण र विकास, वातावरण संरक्षण लगायतका विषयमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो । अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले अन्नपूर्ण पदमार्ग क्षेत्र, अन्नपूर्ण आधार शिविरको प्रचारप्रसार र यसको महत्वलाई उजागर गराउन वार्षिक कार्यक्रमका साथ महोत्सव सम्पन्न गरिएको बताउनुभयो ।
उक्त अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव आयोजक समितिको पहलमा आधार शिविरस्थलमा राखिएको प्रथम हिमाल आरोही मौरिस हर्जोगको सालिक सम्बन्धमा पनि जानकारी गराइयो ।

छोम्रोङ पर्यटन व्यवसायी समितिका उपाध्यक्ष जगनबहादुर गुरुङले आधारशिविरमा विद्युतको केन्द्रीय प्रशारणलाइन जोड्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय लाइन जडानका साथै सौर्य ऊर्जा र हावाबाट बिजुली निकाल्न सके यहाँ आउने पर्यटकलाई राम्रो सेवा सुविधा दिन सकिने उहाँले बताउनुभयो ।

सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोेगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेसँगै अन्नपूर्ण आधार शिविर विश्वव्यापी चासो र चर्चाको विषय बनेको छ । अन्नपूर्ण हिमाल आरोहण गर्न आएको टोलीको चहलपहलसँगै त्यसै बेलादेखि पोखराको पर्यटकीय विकासको यात्रा शुरु भएको मानिन्छ ।

अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *