नयाँ प्रविधिमा किसानको आकर्षण

विशेष समाचार

भरतपुर, १३ माघ
सरकारले कृषिमा आत्मनिर्भर बन्ने भन्दै वर्षेनी करोडौँ रकम कृषि क्षेत्रमा लगानी गरिरहेको छ । किसानलाई बीउ, मलदेखि यन्त्र उपकरणसम्म सरकारले अनुदान दिइरहेको छ ।

तर व्यावहारिकरूपमा कृषि क्षेत्रबाट अझै ठोस प्रतिफल निस्कन सकेको छैन । दिनप्रतिदिन परनिर्भरता बढ्दो छ । अझै धेरै किसान कृषि प्राविधिप्रति अनभिज्ञ छन् । प्रविधिमा अनभिज्ञ भएकै कारण कृषिमा व्यावसायिकीकरण हुनसकेको छैन जसले गर्दा करोडौँको कृषिजन्य वस्तु आयात गर्नुपर्ने अवस्था छ ।

पछिल्लो समय प्रविधिको प्रयोग गरेर कृषि पेशा गर्न खोज्ने किसानको जमात पनि बढ्दो छ । चितवनको भरतपुरमा शुक्रबारबाट शुरु भएको अन्तर्राष्ट्रिय कृषि, पोल्ट्री तथा डेरीसम्बन्धी प्रदर्शनीमा अवलोकनका लागि आउने किसान नयाँ प्रविधिमा निकै आकर्षित देखिन्छन् ।

चितवनको मेघौलीबाट प्रदर्शनीमा आउनुभएका कृष्णप्रसाद पौडेल कृषि प्रविधिले आफ्नो मन लोभ्याएको बताउनुभयो । “मैले हाते ट्र्याक्टरलगायतका प्रविधि हेरेँ”, निकै उत्साहित भएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो”, भर्खरै किनेर लैजाउँ जस्तो लाग्यो, गाउँमा खेती किसानी गर्दा ट्र्याक्टर बेलामा पाइँदैन, हाते ट्र्याक्टरको माध्यमबाट आफँैले पनि जोत्न सकिने रहेछ ।”

यसबाट किसानलाई निकै फाइदा हुने उहाँले बताउनुभयो । धेरै किसान यस्ता प्रविधिबारे जानकार नभएको भन्दै उहाँले यस्ता मेला गाउँगाउँमा गर्न आग्रह गर्नुभयो । थोरै लगानीबाट पनि धेरै फाइदा लिन सकिँदोरहेछ भन्ने कुरा यहाँ आएर प्रविधिहरु हेरेपछि थाहा पाएको पौडेल बताउनुभयो । जन्मिएदेखि किसानका सन्तानले गर्ने दुःख देखेरै अहिलेका पुस्ता खेतीपातीमा आकर्षित नभएको स्थितिमा प्रविधिले फेरि व्यवस्थित कृषिमा फर्काउनेछ भन्ने उहाँलाई आश लागेको छ ।

मेला अवलोकनका लागि सिन्धुलीबाट आउनुभएका किसान खेम अधिकारी हिजोआज हाते ट्र्याक्टरले खेतबारी जोत्नुहुन्छ । हाते ट्र्याक्टरको प्रयोग पछि उहाँलाई हली, हलो र गोरु खोज्नुपर्ने झञ्झट हटेको छ । वर्षा होस् वा हिउँद उहाँ नयाँ प्रविधिबाट खेतीपाती लगाउन सजिलो भएको बताउनुहुन्छ ।

“आधुनिक प्रविधिको प्रयोग गर्ने जमाना आयो, जमानाअनुसार चल्नै प¥यो”, उहाँले भन्नुभयो, “अब पहिलेपहिले जसरी ठूलो क्षेत्रफलमा खेती पनि हुँदैन । सानो ठाउँ, महङ्गो ज्याला, ढिलो काम हुँदा फाइदा हुँदैन ।” आधुनिक कृषियन्त्र उपयोग गर्न जान्दा खेतीपातीमा लागत र समय बचत हुने उहाँको अनुभव छ । मेला अवलोकन गर्दा धेरै कम लगानीमा पनि उत्पादन बढाउन सकिने रहेछ भन्ने कुरा थाहा पाएको उहाँले बताउनुभयो ।

मेलामा प्लास्टिकको कक्ष राख्नुभएका सुप्रिम इण्ड्रस्टीका प्रवीण प्रधानले नयाँ प्रविधिमार्फत पाँच लाखको काम पचास हजारमा गर्न सकिने बताउनुभयो । “पोल्ट्री र माछा पोखरीमा प्लास्टिक प्रयोग हुन्छ”, उहाँले भन्नुभयो’, “यसले पाँचदेखि १० वर्षकाम गर्छ ।” नेपाल जस्तो गरीब देशमा कम मूल्यमा हुने र सबैले गर्नसक्ने प्रविधि भएकाले किसानको आकर्षण बढिरहेको उहाँले बताउनुभयो ।

कैलालीबाट प्रदर्शनी अवलोकन गर्न आउनुभएका भेटेरिनरी डाक्टर नीरञ्जनप्रसाद चौधरीले युवा जमातलाई यस्तो मेलाले नयाँ उत्प्रेरणा दिने बताउनुभयो । नेपाल कृषि सहकारी सङ्घका केन्द्रीय अध्यक्ष खेम पाठक कृषि पेशामा लाग्नेका लागि नयाँ प्रविधि अत्यावश्यक रहेको भन्दै भौगोलिक विविधता अनुसारका कृषि उपकरण मेलामा देख्न पाएको बताउनुभयो ।

कृषि प्रदर्शनीपछि यान्त्रिकीकरण गर्नेको सङ्ख्या बढ्ने नेपाल पोल्ट्री महासङ्घका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्ट बताउनुहुन्छ । “परम्परागत कृषि कर्मले उत्पादन बढाउन सकिँदैन”, विष्टले भन्नुभयो, “विश्वमा प्रयोगमा आएका नयाँनयाँ प्रविधि मेलामा हर्न, बुझ्न र किन्न सकिन्छ ।” मेलामा किसानको दक्षता अनुसारका सानाठूला सबै खालको प्रविधि रहेको उहाँको भनाइ छ ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा कृषि विज्ञ डा तिलचन्द्र भट्टराईले मेलामा धेरै लगानी गर्न सक्नेदेखि साधारण किसानले समेत प्रयोग गर्नसक्ने उपकरण रहेको बताउनुभयो । कृषिमा बिरुवा रोप्ने यन्त्रदेखि दैनिक जीवनमा प्रयोगमा आउने यन्त्र मेलामा महत्वपूर्ण प्रविधिका रूपमा रहेको उहाँको भनाइ छ । प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका विभिन्न १८ देशका कृषिसम्बन्धी कम्पनीका १५० भन्दा बढी कक्ष छन् ।

कृषकलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नगदेबाली, सिँचाइ, डेरी सञ्चालन मात्र नभई कृषिका नवीनतम औजार, उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारीको व्यवस्था गरिएको छ ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *