राजविराज, २ माघ (रासस) : नेपाली सेनाको भीमदलगणले सप्तरीको प्रसिद्घ धार्मिकस्थल छिन्नमस्ता गाउँपालिका–३ स्थित मुसहर बस्तीमा सुरक्षित सामुदायिक भवन निर्माण गरी आज हस्तान्तरण गरेको छ ।
सेनाले आफ्नै लगानी र श्रमदानबाट निर्माण गरेको सुरक्षित तथा लकरसहितको सुविधा सम्पन्न दुई वटा भवन एक कार्यक्रमबीच सो समुदायलाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ । गरीबीको चरम अवस्थामा रहेका मुसहर समुदायको कष्टकर अवस्था हेरेर गत पुस १५ देखि २४ गतेसम्ममा गणका प्राविधिकसहितको सेनाको टोलीले निर्माण गरेको थियो ।
स्थानीयवासीको आग्रहमा गणबाट सेनानी अमरबहादुर थापाको नेतृत्वको ६० जनाको सैन्य टोली श्रमदान गर्न मुसहरबस्ती पुगेको थियो । सेनाले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत रु तीन लाख ५० हजारको लागनीमा उक्त भवन निर्माण गरेको गणका प्रमुख सेनानी गुप्तबहादुर कुवँरले बताउनुृभयो ।
विपद्का बेला जोखिमबाट जोगिन तथा उनीहरुको बहुमुल्य सरसामान सुरक्षित ढङ्गले राख्न सकियोस् भन्ने उद्देश्यले सुरक्षित समुदायिक भवन निर्माण गरिएको उहाँले बताउनुभयो । निर्माण गरिएको भवनमा विवाह, व्रतबन्ध र धार्मिक कार्य तथा गर्मीको समय बाहिर बस्ने गरी सुविधासम्पन्न घर बनाएर हस्तान्तरण गरिएको हो ।
यता मुसहरहरु सुरक्षित साथ आफ्ना आवश्यक कागजात तथा बहुमुल्य सरसामान राख्न नयाँ भवन पाएपछि खुशी भएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अवधेश झा, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, वडाध्यक्ष दीपेन्द्र यादव लगायतले सो अवसरमा शुभकामना दिनुभएको थियो ।.यस्तै सेनाले भूकम्प दिवसका अवसर पारेर राजविराजस्थित स्थानीयवासी जोगेन्द्र भगत ठाकोदेवी राजदेवी माविका विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम गरेको छ ।
–––