शहीदलाई सम्झिने भाइमात्रै

गण्डकी प्रदेश समाचार

पर्वत, १६ माघ 

आज माघ १६ गते राष्ट्रिय शहीद दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर पर्वतमा भने शहीद दिवसका अवसरमा कुनै पनि कार्यक्रम हुन सकेन ।

गत वर्षसम्म यस दिन कुनै न कुनै सङ्घसंस्थाले कार्यक्रम गरेर सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेको २०६२÷०६३ को जनआन्दोलनमा धौलागिरि अञ्चलबाट शहादत प्राप्त गरेका एकमात्र शहीद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्दै मनाउँथे । तर यस वर्ष भने कुनै पनि सरकारी तथा सामाजिक सङ्घसंस्थाले कार्यक्रम नगरेपछि शहीद गोविन्दनाथ शर्माका भाइ देव शर्मा पौडेलले माल्यार्पण गरी आफ्ना दाजुको सम्झना गर्नुभयो ।

“कुनै न कुनै सङ्घसंस्थाले त शहीदको योगदानलाई स्मरण गर्लान नि भन्ने लागेको थियो तर बिहान ११ बजेसम्म पनि कसैले केही कार्यक्रम नगरेपछि आफू एक्लै गएर शहीदलाई सम्झिएको हुँ”, उहाँले भन्नुभयो ।

उहाँले शहीद शर्माको शालिकमा माल्यार्पण गर्दै स्मरण गर्नुभयो । शहीद दिवसका दिन गरिएको बिदा कटौतीले वास्तविक शहीदप्रति अपमान भएको उहाँले बताउनुभयो ।

शहीद गोविन्दनाथ शर्मालाई २०६३ वैशाख ८ गते कुश्माबजारमै आन्दोलनका क्रममा गोली लागेको थियो । उपचारका क्रममा उहाँको वैशाख १२ गते निधन भएको थियो ।

यस वर्ष सङ्घीय सरकार र प्रदेश सरकारले शहीद दिवस मनाउनका लागि कुनै परिपत्र नगरेका कारण पर्वतका कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएको सरकारी अधिकारीले बताएका छन् ।(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *