मङ्सिर महीनाभित्र प्रदेश सरकार विस्तार हुने : मुख्यमन्त्री राई

कोशी प्रदेश समाचार

विराटनगर, १७ मङ्सिर

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही मङ्सिर महीनाभित्रै प्रदेश सरकार विस्तार हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कामको चापको हिसाबले प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिने प्रस्ट पार्नुभयो । मुख्यमन्त्री राईले धेरै विभागसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो भएको हुनाले मन्त्रालय विभाजन गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको विषय माथिल्लो तहमा टुङ्गो लागिसकेको जानकारी दिँदै आगामी हिउँदे अधिवेशनमा यस विषयको टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेशको हिउँदे अधिवेशन आगामी पुसको पहिलो हप्ता बस्ने र त्योभन्दा अगाडि संसदीय दलको बैठक बसी सहमतिका आधारमा नाम र स्थायी राजधानीको विषय टुङ्ग्याउने बताउनुभयो ।

एक प्रश्नको जवाफमा मुख्यमन्त्री राईले मन्त्रिपरिषद्मा सङ्घीय समाजवादी फोरमलाई पनि ल्याउने विषयमा टुङ्गो नलागेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तारमा महिलाको प्रतिनिधित्व गराइनेसमेत जानकारी दिनुभयो

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *