पोखरा– पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमणको अवसरमा यही आउँदो शनिबार पोखराको बिन्ध्यबासिनी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ । सोमबार काठमाडौंबाट पोखरा आएका शाहले २ साता लामो बसाइँमा पोखराका धार्मिक स्थलहरुको भ्रमण गर्ने छन् ।
पौष ७ गते शनिबार ११ बजे पोखराको बिन्ध्यबासिनी मन्दिरमा पूर्व राजा शाहले दर्शन गर्ने कार्यक्रम रहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले जानकारी दिएका छन् । पछिल्लो समय राजनैतिक पार्टीहरु प्रति जनताको बिश्वास गुमेको र राजा बिना नेपालको अस्तित्व संभव नहुने भन्दै सबै राजनैतिक दलका नेता कार्यकर्ताले राजतन्त्रको बिकल्प नरहेको भन्ने बुझिसकेकाले, अब देश र जनताको रक्षाको लागी राजा अगाडि आउनुपर्ने बस्नेतको भनाइ छ ।
देशमा अराजकता मौलाउँदै गइरहेको यो समयमा पुर्व राजाको मन्दिर भ्रमणले नेपाली मन मनमा शान्ती छाउने बिश्वास बस्नेतले ब्यक्त गरे । शनिबारको बिन्ध्यबासिनी दर्शनको कार्यक्रममा पनि राष्ट्र र राष्ट्रियताको पक्षधर नेपाली जनताले राजाको स्वागत गर्नेछन भन्ने बिश्वास पनि बस्नेतले ब्यक्त गरे ।
जनता र राजाकोबीचको दुरी अन्त्य गर्नका लागि मन्दिर परिसरमा पूर्व राजाले जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको शिव सेना नेपाल कास्कीका अध्यक्ष बन्टी क्षेत्रीले बताए । यसपालीे पुर्वराजाको पोखरा भ्रमण दुई साता लामो रहेको छ । यो भ्रमणमा पूर्व राजाले जनतासँग भेटघाट र मन्दिर दर्शनमा ब्यस्त रहने स्रोतको भनाई रहेको छ ।