पोखरा, ७ पुस (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखराको पर्यटन प्रवद्र्धनमा सांस्कृति एवं साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
बुकवर्म फाउन्डेशन र न्याण्डम रिडर्स सोसाइटीद्वारा आजदेखि फेवाताल किनारामा आयोजित सातौँ आइएमइ नेपाल साहित्य महोत्सव उद्घाटन समारोहमा उहाँले मेला र महोत्सवका माध्यमबाट पर्यटन विकासमा सहयोग पुगेको उल्लेख गर्नुभयो ।
पोखरा प्राकृतिक एवं सांस्कृतिकरुपमा मात्रै सम्पन्न नभई साहित्यिकरुपमा पनि उत्तिकै महत्वपूर्ण स्थल भएको उहाँले बताउनुभयो । चारदिने महोत्सवका क्रममा नेपाली साहित्यका विविध पक्षमा चर्चा एवं परिचर्चा हुने विश्वास गर्दै मन्त्री अधिकारीले यसबाट साहित्य प्रेमी लाभान्वित हुने बताउनुभयो ।
सम्मेलनको उद्घाटनको शिक्षाविद् जर्जजोन र एलियाम्मा जोनले उद्घाटन गर्दै पोख्रेली माया ममताका कारण यहाँको शिक्षा क्षेत्रमा लाग्न प्रेरणा मिलेको बताउनुभयो । प्राज्ञ सरुभक्तले यस किसिमका महोत्सवले साहित्य क्षेत्रको उन्नयनमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । सर्वोच्च अदालतका पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीले नेपालमा लैङ्गिक विभेदको अन्त्यका लागि तत्कालीन र दीर्घकालीन सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पत्रकार हरिबहादुर थापा, आइएमइ ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाललगायतले नेपाली साहित्यका बारेमा चर्चा गर्नुभएको थियो । महोत्सवमा चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्जुवल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डा निकोला स्ट्रिटेन र भारतीय पत्रकार हरिश नाम्विएरलगायत आठ देशका १२० जना लेखक तथा साहित्यकारको सहभागिता रहेको छ ।