प्रधानसेनापति थापा जितगढी किल्लामा

लुम्बिनी प्रदेश विशेष समाचार

स्यौली, ४ पुस 

प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको आज स्थलगत अवलोकन गर्नुभएको छ ।

सो अवसरमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्व कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउन लागेकोलगायतका एकीकृत पर्यटन विकासका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले जितगढीमा नेपाली सेनाले पनि नियमित ड्यूटी गर्ने गरी व्यवस्था मिलाउनुपर्ने र तत्कालीन अवस्थाको युद्धकला झल्किने सङ्ग्रहालयका लागि पनि सहयोग गर्न प्रधानसेनापतिसमक्ष आग्रह गर्नुभयो ।

प्रधानसेनापति थापाले बुटवल उपमहानगरपालिकाले अगाडि सारेको अभियानको सराहना गर्दै त्यसलाई पूरा गर्ने काममा आफूहरुले पनि सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जितगढीको विकासका लागि मणिमुकुन्द सेन दरबार क्षेत्र, नुवाकोट गढी, पाल्पाको तानसेन क्षेत्र, स्यूराज, अर्घाखाँचीस्थित पृथ्वीनारायण शाहको मावलीलगायतका क्षेत्रलाई जोडेर इतिहास जीवित राख्ने क्षेत्रका रुपमा विकास गरिने धारणा ल्याइएको छ ।

सेनापति थापाले नेपाल एकीकरणपूर्व र पश्चातका विभिन्न किल्ला, सामरिक महत्वका क्षेत्र, गढीलाई जोडेर नेपाली सेनाले विशेष अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले नौ फिट उचाइको तामाको पूर्णकदको शालिक र नौ फिट उचाइकै झण्डा बनाएर राख्न थालेको छ ।

विसं १८७२ वैशाख ७ गते जितगढीमा अङ्ग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवससमेत मनाउन थालेको थियो ।

जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसँग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना रहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । (रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *