पोखरामा केबलकारको परीक्षण सफल

गण्डकी प्रदेश समाचार


पोखरामा पहिलो पटक निर्मित केबलकारको परीक्षण सफल भएको छ। अन्नपूर्ण केवलकार कम्पनीले निर्माण गरेको केवलकारको मंगलबार परीक्षण गरिएको थियो। सञ्चालक तिर्थराज त्रिपाठीका अनुसार फेवाताल किनार सेदीबगरदेखि सराङकोट जाने केबलकारको २ घण्टा परीक्षण गरिएको थियो। परीक्षणमा कुनै पनि समस्या नदेखिएको उहाँले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।
आगामी जनवरी १ देखि व्यावसायिक रुपमा सञ्चालनको तयारीमा कम्पनी छ। केबलकारमा जडित डिब्बा (गुन्डला) र टावरको जडान परीक्षण गर्न जापानबाट ७ प्राविधिकको टोली आएको थियो। जापानी निपुन केवलबाट ओचीआई नेतृत्वको टोली एक साताअघि आएर अन्तिम चराणको काम गरिरहेको उहाँले बताउनुभयो।
कोरोना महामारी र निर्माण कम्पनीले पटकपटक म्याद थप्दा आयोजना निर्माणमा तोकिएभन्दा ४ वर्ष ढिलो भएको कम्पनीले जनाएको छ। केबलकार सञ्चालनमा आएपछि सेदीबगरबाट ७ मिनेटमै सराङकोट पुग्न सकिन्छ। अहिले गाडीमा करिब ३० मिनेट लाग्छ। नेपालीका लागि भाडा (जाने र आउने) ६ सय रुपैयाँ तोकिएको छ। विदेशीलाई १५–२० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानीय, विद्यार्थीलगायतका लागि विशेष छुटको व्यवस्था हुने त्रिपाठीले बताउनुभयो। उहाँका अनुसार आयोजनाको लागत करिब २ अर्ब पुगेको छ। २.४ किलोमिटर दूरीमा १८ टावर र १८ वटा डिब्बा रहनेछन्। कम्पनीले हाल करिब २५ जनालाई रोजगारी दिँदै आएको छ भने व्यावसायिक रुपमा सञ्चालन भए ८० जनालाई रोजगारी दिने जनाएको छ।

प्राविधिक इन्चार्ज डिएन कायस्थले छिट्टै लोड परीक्षण गरी व्यावसायिक रूपमै केबलकार सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो। उहाँका अनुसार बिहीबारदेखि नियमित परीक्षण हुनेछ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षणका सबै चरण पार गरेपछि मात्र व्यावसायिक रूपमा सञ्चालन गरिने त्रिपाठीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *