पार्टीको सिद्धान्त र सङ्घर्षलाई नछाड्ने ः बिजुक्छे

राजनीति समाचार

भक्तपुर, १५ मङ्सिर 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १७औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजको १०औँ वार्षिकोत्सव एवं दुईदिने शैक्षिक प्रर्दशनी सम्पन्न शुक्रबार भएको छ ं। सो अवसरमा विद्यार्थीद्वारा प्रस्तुत विभिन्न शोधपत्र र ३१ वटा रोबोटसहितको दुईदिने शैक्षिक प्रर्दशनीसमेत आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिलाई कसैले पनि ख्यालठट्टाको विषय बनाउन नहुने बताउनुभयो ।
उहाँले नेमकिपाले आफ्नो सिद्धान्त र सङ्घर्षलाई नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युवापुस्ता राजनीतिमा नआए देश खतरामा पुग्ने चर्चा गर्र्दै उहाँले युवापुस्तामा पलाएको राजनीतिक वितृष्णालाई हटाएर राजनीतिमा ल्याउन सरकारले राम्रो काम गर्नुपर्ने बताउनुभयो । उहाँले नाफा र कमिशनका लागि मात्रै विश्वविद्यालय र कलेजहरू सञ्चालन गर्नु गलत भएको बताउँदै भक्तपुर नगरपालिकालाई विश्व विद्यालय सञ्चालनको स्वीकृति दिए नमूना बनाएर देखाउने दाबी गर्नुभयो ।

कार्यक्रममा नेमकिपाका नेता एवं सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजमा देशभरिका विद्यार्थीले कम शुल्कमा गुणस्तरीय शिक्षा लिएको चर्चा गर्दै विश्वविद्यालय माग गर्दा सरकारले नदिएको गुनासो गर्नुभयो ।

प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईंले प्रदेश सरकारले काम गर्न नसकेको र काम नपाएको सन्दर्भ कोट्याउँदै प्रदेश सरकारको अस्तित्व राजनीतिक बुख्याँचाको रुपमा रहेको टिप्पणी गर्नुभयो । अर्का सांसद सिर्जना सैंजुले महिलाले पद पाउँदैमा समानता आउँछ भन्ने भ्रमलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षाको विकासमा फड्को मारेको बताउँदै नगरपालिकाले विभिन्न विषयका कलेज सञ्चालन गरी शैक्षिक जगत्मा उत्कृष्ट र नमूना बन्न सफल भएको बताउनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रका रुपमा विकास गर्दै लैजाने बताउनुभयो ।

कार्यक्रममा इञ्जिनीयरिङ अध्ययन संस्थानका डीन प्रा डा त्रिरत्न बज्राचार्य, इञ्जिनीयरिङ अध्ययन संस्थानका प्राध्यापक डा प्रेमनाथ मास्के, ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका प्राचार्य सुनिल दुवालले कलेजको प्रगतिका बारेमा चर्चा गर्दै गुणस्तरीय शिक्षामा कलेजले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *