पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु

गण्डकी प्रदेश समाचार

म्याग्दी, १७ मङ्सिर 

करीब रु २८ करोडको लागतमा म्याग्दीको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति शुरु गर्न लागेको हो ।

आयोजनाका प्रमुख शिवराम गेलालले हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याब्रियन पर्खाल, मेशिनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलिङ र ३.७५ किलोमिटर कालोपत्रे समेत गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार रु ३६ करोड ६९ लाख ५८ हजार १० लागत अनुमान गरिएको आयोजना निर्माणका लागि मोतीदान–जयमाता जेभीले रु २७ करोड ९१ लख ३५ हजार २२० मा ठेक्का सम्झौता गरेको छ ।

रघुगङ्गाको पहुँचमार्ग निर्माण

म्याग्दीमा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको बाँध स्थलसम्म पुग्ने पहुँचमा निर्माण भएको छ ।

रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालदेखि पिप्ले मौवाफाँट, ४ नम्बर वडाको बुक्ल हुँदै दग्नाम र वडा नं ५ झिँको सिमानामा निर्माण हुन लागेको बाँधसम्म सडक पु¥याइएको हो ।

गत असारमा मौवाफाँटदेखि नयाँ मार्ग (ट्याक) खन्न शुरु गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्सले बाँधसम्म सडक पु¥याएको रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ११ किलोमिटर पहुँचमार्ग मध्य नौ किलोमिटर ९०० मिटर सडकको ट्याक खुलिसकेको छ । घुमाउने तालदेखि पिप्लेसम्म र गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि बाँधसम्म नयाँ ट्याक निर्माण भएको हो ।

पिप्लेदेखि मौवाफाँटसम्म यसअघि निर्माण गरिएको सडक विस्तार र स्तरोन्नति गरिएको छ । मूल सडकदेखि बुक्लमा रहने अडिट नं २ को सुरुङमा जाने ८१४ मध्य ७१४ मिटर सडकको ट्याक खुलिसकेको छ ।

२०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनी ऋण लगानीकर्ता भारतीय एक्जीम बैंकको स्वीकृति पछि २०७५ जेठ १० गतेदेखि कार्यक्षेत्रमा परिचालन भएको थियो ।
जलविद्युत् आयोजनाले बाँधसम्म निर्माण गरेको सडक विस्तार गरेर पाखापानीको औला जोड्ने तयारी गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *