नेपालमा स्नातकोत्तरमा सुरुङ इन्जिनियरिङको अध्ययन सुरु

Featured समाचार

नेपालमा सुरुङमार्गको बढ्दो आवश्यकतासँगै स्नातकोत्तर तहमा यो विषय पढाइने भएको छ। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक र पोखराको पश्चिमाञ्चल क्याम्पसले सुरुङ इन्जिनियरिङ विषय अध्यापनको तयारी थालेको कान्तिपुर अनलाइनले लेखेको छ।

पुल्चोक र पश्चिमाञ्चल क्याम्पसले स्नातकोत्तर तहमा छुट्टै कार्यक्रम (विषय) का रूपमा सुरुङ विधाको सम्भावना, पाठ्यक्रम, विज्ञको खोजीका लागि अध्ययन समिति बनाएका छन्। दुवै क्याम्पस आउँदो शैक्षिक सत्रदेखि नै कक्षा सुरु गर्ने तयारीमा जुटेका छन्। गण्डकी प्रदेश सरकारले सुरुङ इन्जिनियरिङको पाठ्यक्रम बनाउन लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसलाई १० लाख रुपैयाँ बजेट छुट्याएको छ। सुरुङमार्ग बनाउने दक्ष जनशक्ति देशमै उत्पादन हुन नसकेपछि त्यसको तयारी गर्न रकम विनियोजन गरिएको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले बताउनुभयो। ‘प्रदेश सरकारको नीति तथा कार्यक्रममा सुरुङ इन्जिनियरिङको प्रवर्द्धनलाई जोड दिँदै त्यसको पाठ्यक्रम बनाउन १० लाख रुपैयाँ छुट्याएका छौं,’ उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘प्रदेश सरकारले गत वर्षदेखि नै यसको आवश्यकता औंल्याउँदै क्याम्पससँग कुरा गरेको थियो, अहिले उहाँहरू पाठ्यक्रम बनाउँदै हुनुहुन्छ।’

पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले स्नातकोत्तर तहमा सुरुङ इन्जिनियरिङ अध्ययनका लागि सहायक क्याम्पस प्रमुख (प्रशासन) निर्मलप्रसाद बरालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर मस्यौदा तयार गरिसकेको बताउनुभयो। ‘अब कात्तिक १५ र १६ मा पाठ्यक्रम कस्तो बनाउने भनेर विज्ञहरू बोलाएर कार्यशाला गर्दै छौं,’ उहाँले भन्नुभयो। पाठ्यक्रम बनाउने कार्यशालामा त्रिभुवन, काठमाडौं, पोखरा विश्वविद्यालय र नर्वेजियन युनिभर्सिटी फर साइन्स एन्ड टेक्नोलोजी (एनटीएनयू), सडक, विद्युत् निकायबाट गरी २२ विज्ञ आउने पौडेलले बताउनुभयो। क्याम्पसले तयार गरेको पाठ्यक्रमलाई डीन कार्यालयअन्तर्गतको विषय समिति, फ्याकल्टीबोर्ड र त्रिविको प्राज्ञिक परिषद्ले स्वीकृति दिनुपर्छ।

source :CRI

Leave a Reply

Your email address will not be published. Required fields are marked *