नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

राजनीति समाचार

परासी, ५ मङ्सिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो ।

स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले स्थानीय कमिटीको नेतृत्व चयन गर्ने अधिकार प्रदेश कमिटीलाई दिएको हो । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । एक नगरपालिका र दुई गाउँपालिकामा माओवादी केन्द्र तथा दुई नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व एमालेलाई दिनेमा सहमति नजुटेपछि प्रदेशलाई गुहार्नु परेको नेकपाका कार्यदल सदस्य थानप्रसाद गैरेले जानकारी दिनुभयो ।

स्रोतका अनुसार एमाले समूह सुनवल र बर्दघाट नगरपालिका तथा सरावल र सुस्ता गाउँपालिकाको नेतृत्व आफूले राखेर रामग्राम नगरपालिकासहित पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिने पक्षमा छ । माओवादी केन्द्रले सुनवल वा बर्दघाटमध्ये एक नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकाको नेतृत्व पाउनुपर्ने अडान लिएको छ । जिल्ला कार्यदलले यसअघि नगरपालिका तहबाट ७५ जना र गाउँपालिका तहबाट ७० जनाको नाम सिफारिस गरेको गैरेले बताउनुभयो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *