नुवाकोट ट्रक दुर्घटना : ज्यान गुमाएका १८ जनामध्ये तीन जनाको पहिचान

विशेष समाचार

नुवाकोट, २९ मंसिर । नुवाकोटको घ्याङफेदीमा शुक्रबार मिनिट्रक दुर्घटना हुँदा ज्यान गुमाएका १८ जनामध्ये तीन जनाको पहिचान खुलेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीको सिम्टाङबाट वडा नं. १ घ्याङफेदीको सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुप्चेश्वर–१ घ्याङडाडामा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएका छन् ।

कच्ची र भिरालो सडकमा पछाडि फर्कने क्रममा मिनिट्रक भीरबाट खसेको थियो । सडकदेखि करिब ५ सय मिटर तल तादीखोलामा मिनिट्रक खसेको प्रहरीले जनाएको छ । शिखरवेसीको सिम्टाङमा मृत्यु भएको आफन्तको घेवामा सहभागी भएकाहरुलाई लिएर जाँदै गरेको मिनिट्रक दुर्घटनामा परेको हो ।

मृतकमध्ये ३ जनाको मात्र सनाखत भएको छ । मुत्यु हुनेमा शिखरवेसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदीका ३६ वर्षीय रिबल तामाङ र ३७ वर्षीय आइत तामाङको नाम खुलेको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिएका छन् ।

घाइतेहरुको उद्धार गरी अस्पताल लगिएको अध्यक्ष तामाङले बताएका छन् । शुक्रबार दिउँसो साढे चार बजे दुर्घटना भएको भए पनि उद्धारमा कठिनाई भएकोले घाइतेहरुलाई अस्पताल पठाउन ढिलाई भएको थियो । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनास्थल अन्त्यन्त अफ्ठ्यारो भीरमा भएको र हराइरहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मिनिट्रकका ४५ जनाभन्दा बढी सवार रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *