नुवाकोटमा रञ्जना लिपि कार्यशाला र क्यालीजात्रा

Featured समाचार
विदुर –  नुवाकोटको सदमुकाम विदुरको लोकतान्त्रिक चौतारामा एकदिने ३९औं रञ्जना लिपि कार्यशाला र क्यालिजात्रा भएको छ । विदुर सिटी युथ क्लबको आयोजनामा भएको कार्यशालामा तामाङ, नेवार, गुरुङ, क्षेत्री, बाहुन लगयात गरि ९५ भन्दा बढीले सहभागिता जनाएका थिए भने १२० जनाले क्यलिग्राफीमा प्रत्यक्ष सहभागिता जनाएका थिए ।

नेपालमा १६ औं र १७ औं शताब्दीसम्म निकै प्रचलनमा रहेको रञ्जना लिपि महायानी बौद्ध धर्म मान्ने भारत, चीन, जापान, मंगोलियालगायत देशमा पनि प्रयोगमा छन् । नेपालमा पनि केही शिलालेख र अभिलेख र हाल कला विधामा पनि यसको प्रयोग बढ्दो छ ।

संयुक्त राष्ट्रसंघमा नेपालको लिपिमा दर्ता भएको रञ्जना लिपिको प्रवर्द्धनको लागि नुवाकोटमा एक दिने कार्यशालाको आयोजना गरिएको क्लबका अध्यक्ष सुनील श्रेष्ठले बताए । उनले नुवाकोटमा जारी महोत्सवको टाईटल पनि रञ्जना लिपिमै बनाएको जानकारी दिए ।

कार्यशालामा पृथ्वी मावि, स्पार्कल एकेडेमी, कल्याणकारी विद्या मन्दिर, नव जीवन मन्टेश्वरीका विद्यार्थी र शिक्षक शिक्षिका लगायतले सहभागिता जनाएका थिए ।

सेतो कागजमा रञ्जना लिपिका साधारण शब्दहरू कोर्न कोसिस गर्दै गरेका विदुर नगरपालिका वडा नम्बर ४ का सदस्य बसन्त रिजाले मौलिक लिपिबारे सुने पनि जिल्लामा त्यसबारे अध्ययन गर्न नपाएको बताए ।

रञ्जना लिपिले संस्कृति, परम्परा, धर्म र मौलिक पहिचानलाई झल्काउँने भएको यसको लेखनलाई सिकाईको माध्यमबाट व्यवहारमा उतार्दै लैजाने र नुवाकोटमा मात्र नभई रसुवामा पनि प्रवर्द्धन गर्नुपर्ने बेत्रावतीका शशी डङ्गोलले धारणा राखे ।

लिपिको अध्ययनबाट घरमा प्रयोग गरिने धर्म ग्रन्थ, साधना र तथा गोप्य मन्त्रमा रहेका लिपिहरू सजिलै बुझ्न सकिने नेपाल लिपि गुथीका सचिव पवित्र कसा:ले बताए ।

कार्यशालामा कतिपय भने लेख्न मात्र नभएर बोल्न पनि सिकिरहेका थिए । कतिपयले मसी छोप्दै लेख्नुपर्ने झन्झट मानिरहेका थिए । पहिलो चरणको सुरुवात भएर लिपि लेखनको लागि कलमलाई साटो कुचोको ड़ाठलाई प्रयोग गरिएको  गुथीका सचिव कसा:ले बताए ।

त्यस्तै, छैठौं नुवाकोट महोत्सवको अवसर पारेर महोत्सवस्थलमा पनि रञ्जना लिपि क्यालीजात्रा गरिएको क्लबका सचिव प्रदीपकुमार पण्डितले जानकारी दिए । क्यालीजात्रामा नेपाल लिपि गुथीका उपाध्यक्षको समुहले महोत्सवमा आउने अवलोकनकर्ताहरुको नाम रञ्जना लिपिमा लेखेका थिए ।

रञ्जना लिपिमा लेख्न मिल्ने मोबाइल एप ‘रञ्जना स्क्रिप्ट’  बाट नेपालमा प्रचलित पुरानो लिपि रञ्जनाको वर्णमाला सिक्न र रञ्जना लिपिमा लेखेर सामाजिक सञ्जालमा सेयर गर्न मिल्नेछ।

कार्यशाला त्रिशुली सामाजिक क्लब, पिपलबोट समुह, न्यू स्पोर्ट्स ब्वाईज क्लब, कोलेनी थ्रीडी क्लब, नुवाकोट युनाईटेड फुटबल क्लब, दारी ग्यांग, सामर्थ्य नुवाकोट, नुवाकोट जेसीज, र समृद्ध नुवाकोटको संयुक्त सह-आयोजनामा भएको हो ।

कार्यशाला विदुर नगरपालिका, नारायणी बेकरी र टिमुरे बस तथा मिनिबस यातायातको सहयोगमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *