पौष 15
पोखरा । नवौं संस्करणको पोखरा महोत्सवलाई सफल वनाउनका लागि पोखराका वस्तुगत संघ संस्थाहरुले सहयोग गर्ने भएका छन् । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखी माघको ८ गते सम्म अमरसिंह माविको खेल मैदानमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवमा पोखरामा रहेका ३४ वटा बस्तुगत संघ सस्थाहरुले सहयोग गर्ने भएका हुन ।
शनिवार युनाइटेड क्लवको कार्यालयमा सम्पन्न छलफल कार्यक्रममा बोल्दै बुद्ध बिशाल बजार व्यवसायी संघका अध्यक्ष केशवबहादुर खत्रीले पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले आफ्नो संस्थाबाट पूर्ण रुपमा सहयोग गर्दै महोत्सवलाई भव्य र सभ्य बनाउनका लागी समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसै गरी प्याव्सन कास्कीका वरिष्ठ उपाध्यक्ष मथुराप्रसाद पौडेलले पोखरा महोत्सव अहिले सम्मकै सफल महोत्सव रहेको वताउदै आफ्नो संस्थामा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई महोत्सव अवलोकन संगै पोखरा महोत्सवकै पहलमा लेखनाथमा निर्माणधिन ज्योलोजिकल पार्कको अवलोकनमा समेत सहभागीता जनाउने बताए ।
खुद्रा तथा किराना ब्यवशायी संघका अध्यक्ष चुडामणी आचार्यले पोखरा महोत्सवलाई आफ्नो संस्थाबाट निरन्तर सहयोग हुदै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए ।
पोखरा इलेक्ट्रिकल एशोसियसनका अध्यक्ष राजेन्द्र बहादुरकार्कीले युनाइटेड क्लव संग विगतका वर्षहरु देखीनै सहकार्य गरेर आफ्नो संस्था अगाडी वढिरहेको सन्दर्भमा आगामी दिनहरुमा पनि पोखरा महोत्सव र युनाइटेड क्लव संग सहकार्य गरेरै अगाडी वढ्ने बताए ।
सो अवसरमा वोल्दै युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव नवौ संस्करण सम्म आइपुग्नुमा पोखरामा रहेका व्यवसायी संघ सस्थाको मुख्य भुमिका रहेको वताउदै पोखरेलीको मायालेनै युनाइटेड क्लव अगाडी वढिरहन सहयोग पुगेको वताए ।
नवौ पोखरा महोत्सव ब्यानर ब्यवस्थापन उपसमिती संयोजक पूर्ण श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा क्लवका अध्यक्ष लालकाजी गुरुङ, क्लवका सचिव सूर्य बानिया लगायतले कार्यक्रममा उपस्थितलाई धन्यवाद ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लवका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले गरेका थिए ।